काठमाडौँ, २५ साउन । नेकपा (एमाले)को स्थायी र केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक आह्वान गर्नुभएको छ । स्थायी कमिटी बैठक पछि आजै दिउँसो ३ बजे केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ । आजका दुवै बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने बताइएको छ ।
बैठकमा एमालेको विधान महाधिवेशन, पार्टी एकतालगायत विषयमा छलफल हुनेछ । एमाले विधान संशोधन दस्तावेज आज सुरुमा बस्ने स्थायी कमिटीमा पेश हुने र स्थायी कमिटीले अनुमोदन गरेपछि उक्त विधान संशोधन केन्द्रीय समिटीमा पेश गर्ने कार्यसूचि रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।