कांग्रेसभित्र अप्ठेरोमा पौडेल

काठमाडौँ, १३ असार । ‘एकपटकका लागि कांग्रेसको नेतृत्व गर्ने इच्छा छ, त्यसका लागि तपाईंहरूले मलाई सहयोग गर्नुपर्‍यो । मलाई शेरबहादुर (शेरबहादुर देउवा) जीसँग दाँजेर हेर्नु भएन । मैले न पार्टीको नेतृत्व गर्न पाएको छु, न सरकारको ।’

२०४६ सालको राजनीतिक परिवर्तनपछि पार्टी राजनीतिको केन्द्रमा रहँदै आएका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले शुक्रबार निकटहरूसँग १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने इच्छा व्यक्त गर्दै राखेको धारणा हो यो । पार्टीका विभिन्न तह हुँदै कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गरेका पौडेलले प्रतिनिधिसभाको सभामुख र मुलुकको उपप्रधानमन्त्रीसम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन् । संसदीय दलको नेता बनेका पौडेल प्रधानमन्त्रीको उम्मेदवार बने पनि प्रधानमन्त्री भने बन्न सकेका छैनन् । कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गर्दै उनी १३ औं महाधिवेशनमा सभापतिको उम्मेदवार पनि बने तर निकटहरू मिलाउन नसक्दा जित निकाल्न असफल भए ।

१३औं महाधिवेशनमा शेरबहादुर देउवासँग नेतृत्वमा पराजित पौडेलले १४औंबाट नेतृत्वमा पुग्ने आकांक्षासहित निकटहरूसँग सहयोगको हात बढाएका हुन्, त्यो पनि आफ्ना राजनीतिक समकक्षीसमेत रहेका सभापति देउवाले १४औं महाधिवेशनमा नेतृत्व दौड थालेलगत्तै । १३औं महाधिवेशनमा निकटहरू मिलाउन नसक्दा नेतृत्वमा पुग्न चुकेका पौडेललाई १४औं महाधिवेशनमा सबैलाई विश्वासमा लिएर उम्मेदवार बन्न झनै कठिन देखिएको छ, जसको संकेत शुक्रबार उनै पौडेलद्वारा आयोजित भेलाले दिएको छ । राजनीतिक जीवनको उत्तराद्र्धमा आइपुगेका पौडेललाई निकटहरूले आगामी महाधिवेशनमा नेतृत्वका लागि अघि बढ्न सुझाएनन् । महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, शेखर कोइरालाले मात्र होइन, रामशरण महत, अर्जुननरसिंह केसी र सुजाता कोइरालाले आफैं मैदानमा खडा हुने भन्दै पौडेललाई प्रतिस्पर्धा नगर्न सुझाए । त्यति मात्र होइन, पार्टीभित्र युवा भनिएका पहिलो र दोस्रो तहका नेताहरूले एउटै साझा उम्मेदवार नदिए आफैं नेतृत्वको प्रतिस्पर्धामा उत्रिने दाबी गरे ।

कोइराला परिवारबाट महामन्त्री शशांक र नेता शेखर एकअर्का नै सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन् । नेता पौडेल मात्रै होइनन्, भाइ शशांकलाई पनि नेतृत्व प्रतिस्पर्धामा नछाड्नेगरी तयारी थालेका शेखर आगामी महाधिवेशनमा कुनै हालतमा सभापतिको उम्मेदवारी दिने पक्षमा छन् । शशांकले पनि उम्मेदवार बन्ने बताइरहँदा कोइराला परिवारबाटै कांग्रेस सभापतिका लागि दुई उम्मेदवार हुने त होइन भन्ने आशंका उब्जिरहेका बेला पार्टीका शीर्ष नेता पौडेललाई संस्थापन इतर पक्षबाट साझा उम्मेदवार बन्ने कुरा निकै कठिन रहेको निकटहरू बताउँछन् ।  

अझ देउवाबाट नचलेको पार्टी अब पौडेलबाट पनि चल्न सक्दैन भन्दै पूर्वमहामन्त्री सिंह पनि नेतृत्वको दौडमा खुलेर उत्रिँदा पौडेल थप अप्ठेरोमा परेका छन् । नेता तथा कार्यकर्ताले देउवा र पौडेलको विकल्प खोजिरहेको बताउँदै सिंहले शुक्रबारको भेलामा भनेका थिए, ‘मान्छेहरू भन्छन्– शेरबहादुर देउवाजीबाट पार्टी चलेन । रामचन्द्र दाइबाट पनि चल्दैन । म नेविसंघबाट राजनीति गरेर आएको हुँ । म लिगेसीबाट मात्र आएको होइन । त्यसैले मलाई सबैले सहयोग गर्नुपर्‍यो ।’ त्यति मात्र होइन, पूर्वसहमहामन्त्रीसमेत रहेका केसीले ६० वर्षमुनिकालाई पार्टी नेतृत्व दिनुपर्ने भन्दै सहमतिबाट एउटा मात्र उम्मेदवार दिन नसके नेतृत्व प्रतिस्पर्धामा रहेका सबै नेता सल्लाहकार बस्नुपर्ने तर्क गरे । सबै नेतृत्वको प्रतिस्पर्धामा उत्रिने भनेको आत्महत्या गर्नुजस्तो हुने उनको तर्क थियो ।

‘वर्तमान सभापति शेरबहादुर देउवाले फेरि नेतृत्वको प्रतिस्पर्धा गर्छु भनिरहेका बेला हामीले उहाँ (रामचन्द्र पौडेल)लाई उम्मेदवार बन्न पाउनुहुन्न भनेका छैनौं,’ केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, ‘पौडेल दाइले सबैलाई मिलाएर जान सके ठीक छ । उहाँले त्यसमा क्षमता देखाउनुपर्यो । त्यो भएन भने उहाँले मैदान छाड्नुपर्छ ।’ यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड