नेता नेपालको दौडधुप: सभापति देउवाको प्रस्तावले माधवलाई झनै अप्ठ्यारो

काठमाडौँ, २४ वैशाख । प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल दौडधुपमा लागेका छन् । नेता नेपालले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । कांग्रेस सभापति देउवासँग एक घण्टा वार्तालापपछि नेपाल राष्ट्रपति भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका हुन् । 

नेपाल विश्वासको मत लिनुअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्षमा रहेको जनाइएको छ । यसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी (जसपा)का नेता उपेन्द्र यादव सहमत देखिएका छन् । देउवाले भने पहिला नेपाल पक्षका सांसदले राजीनामा दिनुपर्ने अडान लिएको जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार देउवालाई भेटेर ‘अर्ली इलेक्सन’मा मिलेर जान प्रस्ताव गरेका थिए ।

नेपालले बुधबार माओवादी केन्द्रका अध्यक्ष दाहाल, जसपा नेता यादवसँग छलफल चलाएका थिए । नेपालले राष्ट्रियसभामा रिक्त पदमा आफूनिकट डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने सहमति गराए। माओवादी छाडेका गृहमन्त्री रामबहादुर थापाको रिक्त पदमा डा. देवकोटालाई उठाउने भएपछि एमालेबाट उम्मेदवार निश्चित हुन सकेको छैन । थापालाई उम्मेदवार बनाउने तयारी गरेको एमालेलाई विपक्षीले देवकोटा अघि सारेपछि दबाब बढेको छ । 

एमालेको बिहीबार बसेको स्थायी समितिको बैठकले जित्ने निश्चित भएपछि मात्रै उम्मेदवार तय गर्ने निर्णय गरेको छ । बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आफ्नो जित निश्चित भएपछि मात्रै उम्मेदवारी घोषणा गर्ने निर्णय भएको बताए । ‘राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा जित सुनिश्चितताका लागि नेताहरूले विभिन्न सुझाव दिनुभएको छ’, प्रवक्ता ज्ञवालीले भने, ‘मतदातासँग कुराकानीपछि उम्मेदवार घोषणा गर्ने निर्णय भएको छ ।’ प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले यसअघि थापालाई नै उम्मेदवार बनाउने बताएका थिए ।

बिहीबारको बैठकमा नेपाल पक्षको कारबाही फिर्ता गर्नुपर्ने विषयमा ओलीलाई अन्य नेताले दबाब दिएका छन् । कारबाही फिर्ता गर्दा पनि विपक्षीको साथमा गए मात्रै थप कारबाही गर्नुपर्ने उनीहरूको मत छ । वरिष्ठ नेता नेपालसहित चार जनालाई गरिएको कारबाही फिर्ता लिनेबारे छलफल भएको जनाइएको छ । नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि निलम्बन गरिएको छ । अन्य ३० प्रतिनिधिसभा सदस्यलाई पनि स्पष्टीकरण सोधिएको छ ।

एमाले दोस्रो तहका नेताबीच बिहीबारै छलफल भएको छ । अर्थमन्त्री विष्णु पौडेल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टबीच पार्टीलाई एकजुट बनाउने र विश्वासको मतका विषयमा छलफल भएको हो । यो समाचार आजको अन्नपूर्ण दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । कालीगण्डकी नदी किनारमा दुई जना पुरुषको शव फेला परेको छ । पाल्पा प्रहरीका अनुसार जिल्लाको रामपुर नगरपालिका–८

काठमाडौँ, ५ कार्तिक । आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

काठमाडौँ, ४ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ४ कार्तिक । थप ५ सय ४५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ७ हजार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021