लैङ्गिक समानता प्राप्तिको अभियानमा पुरुषको पनि सक्रिय सहयोग र सहभागिता जरुरी: राष्ट्रपति भण्डारी

काठमाडौँ, २४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानता प्राप्तिको अभियानमा जनसङ्ख्याको आधा हिस्सा ओगट्ने पुरुषको पनि सक्रिय सहयोग र सहभागिता पनि उत्तिकै जरुरी रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च)का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीलाई हार्दिक बधाई दिँदै सुख, शान्ति र समृद्धिका लागि राष्ट्रपतिले हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताउनुभएको छ ।

एक सय ११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै उहाँले नेपालको संविधानले व्यवस्था गरे अनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको उल्लेख गर्नुभएको छ ।

राष्ट्रपतिले भन्नुभएको छ, “यस दिवसले हामी सबैलाई महिलाहरूको हक, अधिकार र सम्मानप्रति पूर्ण संवेदनशील भई लैङ्गिक समानताका लागि क्रियाशील सम्पूर्ण अधिकारकर्मीलाई थप उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु ।”

संसारभरिका विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरूले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धिलाई स्मरण गर्दै महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइने गरेको राष्ट्रपतिले स्मरण गर्नुभएको छ ।

उहाँले त्यस सङ्कल्पलाई साकार पार्न महिला र पुरुषका बीचमा विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक विभेद हटाउनेतर्फ व्यक्ति, परिवार, समाज, सङ्घसंस्था तथा राज्यका सबै निकायहरू अग्रसर हुनु आवश्यक रहेको बताउनुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै