काठमाडौँ, १३ फागुन । पूर्वाधार विषयमा समाचार सङ्कलन गरिरहेका सञ्चारकर्मीले खोजी पत्रकारितामा केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा आमसञ्चार एवं पूर्वाधार क्षेत्रका विज्ञले प्राविधिक क्षेत्र भएकाले गहिरिएर समाचार सङ्कलन नगरे यथार्थ बाहिर नआउने बताउनुभएको हो । पूर्वाधार बिटमा काम गर्ने पत्रकारमा खोजी गर्ने बानीको विकास गर्नुपर्ने उहाँहरुको भनाइ थियो ।
खोज पत्रकारिता केन्द्र (खोपके) का पूर्वसम्पादक एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले पूर्वाधार योजना चलाइरहेका सरकारी एवं निजी क्षेत्रका अधिकारीमा पत्रकारले प्राविधिक क्षेत्र नबुझेकाले ‘हामीले नचाहेको समाचार आउँदैन’ भनी ठोकुवा गर्ने प्रतिष्पर्धा चलेकाले खोजी पत्रकारितामा लाग्नुपर्ने बताउनुभयो ।
पूर्वसहसचिव एवं कार्यक्रमका सहजकर्ता कमल पाण्डेले धेरैजसो पूर्वाधार निर्माणका काम उपभोक्ता समितिमार्फत हुने गरेकामा आठ वर्षअघि नै सार्वजनिक खरिद अनुगमन कार्यालयलाई यससम्बन्धी रणनीतिक योजना बनाउन बजेट विनियोजन गरिएकामा केही काम नगरेको स्मरण गर्नुभयो ।
सरोकार भएका सरकारी निकायलाई गर्न दिइएको काम नहुँदा पनि चौथो अङ्ग सञ्चारमाध्यमको ध्यान जान नसक्दा उपभोक्ता समितिका काम आलोचित भइरहेको जनाइएको छ ।
अभिमुखीकरणको सहयोगी संस्था पिइआइका कार्यकारी निर्देशक सोमेन्द्र न्यौपानेले एक वर्ष लगाएर उपभोक्ता समितिमार्फत निर्माण भएका सडकलगायत पूर्वाधारका विषयमा अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरिएको बताउनुभयो । यस विषयमा अझै गहिरिएर अनुसन्धान गरिने उहाँको भनाई थियो । प्रशिक्षक अनुराग आचार्यले पूर्वाधार क्षेत्रमा सुशासन कायम गराउन तथ्यको खोजी गर्ने पत्रकारिता विकास गरिनुपर्ने बताउनुभयो ।
दुई दिने कार्यक्रमको पहिलो दिन पूर्वसचिव एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार लालशङ्कर घिमिरे, एशियाली विकास बैंकका पूर्वउपाध्यक्ष डा बिन्दु लोहनी, पूर्वसचिव सुमन शर्मा, पूर्वसहसचिव पाण्डे, वरिष्ठ पूर्वाधारविज्ञ सुरेन्द्रगोविन्द जोशीलगायतले पूर्वाधार क्षेत्रका विभिन्न आयामका बारेमा सञ्चारकर्मीलाई प्रशिक्षण दिनुहुँदै पूर्वाधारका विषयमा सतहीरुपमा गरिने पत्रकारिताले वास्तविकता बाहिर नआउने भएकाले गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
पूर्वाधार क्षेत्रमा भएका सकारात्मक कामको पनि खोजी गरेर समाचार बनाउन सकिने उहाँहरुको भनाइ थियो । कार्यक्रममा प्रमुख सञ्चारमाध्यमका १५ पत्रकारको सहभागिता रहेको समाजका अध्यक्ष भीम गौतमले जानकारी दिनुभयो । रासस