जनकपुरधाम, ११ फागुन । स्रोत नखुलेको ३५ लाख ५० हजार रूपैयाँसहित सप्तरी र धनुषाबाट चारजना पक्राउ परेका छन् ।
धनुषाको सीमावर्ती नगराईनबाट २५ लाख ५० हजार रूपैयाँसहित महोत्तरीका संजय साह र भारत पिपरौन गाउँका सुमित यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार ती दुवैजनालाई शंका लागेर चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएपछि नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको धनुषा प्रहरीले जनाएको छ ।
यस्तै सप्तरीको तिलाठीबाट स्रोत नखुलेको १० लाख रूपैयाँसहित दुई महिलालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका-५ बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास छन् । सप्तरीका सशस्त्र प्रहरीका अनुसार सीमा सुरक्षा बल तिलाठीको गस्ती टोलीले दुई महिलालाई पक्राउ गरेको हो ।