विराटनगर, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतदेखि नै पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनका सहयात्रीले छोड्दै आएको बताउनुभएको छ ।
शनिबार विराटनगरमा आयोजित आफू पक्षीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुरुवातदेखिका सहयात्रीले प्रचण्डलाई छोड्न थालेपछि आफुलाई उनी देखेर ‘माया लाग्ने’ गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रचण्डको जीको मलाई यसो माया लाग्छ, पहिले उहाँसँग वैद्य हुनुहुन्थ्यो । वैद्यले उहाँलाई छोड्नुभयो । त्यसपछि उहाँले डाक्टर लिनुभयो । डाक्टरले पनि उहाँलाई छोड्नुभयो । अहिले एउटा झाँक्री लिनुभएको छ । तर, उहाँलाई झाँक्रीले पनि बचाउन सक्दैन ।’
कुनै कारण प्रतिनिधि सभा पुनर्स्थापना हुने भयो सांसद किनबेच, सरकार बनाउने-ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई कमजोर बनाउने उल्लेख गर्दै उहाँले देशलाई अस्थिरतातिर फर्काउने नहुने बताउनुभयो । उहाँले, ‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला, यस्ता सभामाहरुबाट प्रकट भएको जनताको अभिमत हरेको होला । संविधानको मर्म र भावना हेरेको होला । मुलुक कता जान्छ भन्ने विश्लेषण गरेकै होला ।’

प्रधानमन्त्री ओलीले मोहन वैद्य, डा. बाबुराम भट्टराई, रामकुमारी झाँक्री र प्रचण्डबीचको सम्बन्धलाई लिएर टिप्पणी गर्नुभयो । संसदीय व्यवस्था भएको मुलुको प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने ओलीको अडान छ । काम गर्ने संसदको लागि प्रतिनिधि सभा विघटन गरेको जिकिर गर्दै ओलीले तोकिएको मितिमा मध्यावधि चुनाव हुने स्पष्ट पार्नुभयो । सम्बोधनका क्रममा उहाँले सभामुख अग्निप्रसाद सापकोटा र उपराष्ट्रपति नन्द बहादुर पुनको पनि आलोचना गर्नुभएको थियो ।
उपराष्ट्रपति पुन सरकारविरुद्ध भाषण गर्दै हिडेको र सभामुख सापकोटा झगडिया भएको उल्लेख गर्दै उहाँल निर्वाचनको पक्षमा उभिन उपराष्ट्रपतिलाई आग्रह गर्नुभयो । ‘उपराष्ट्रपतिजी सरकारविरुद्ध भाषण गरेर हिँड्नु भएको छ’ उहाँले भन्नुभयो, ‘म उहाँलाई भन्न चाहन्छु, उहाँको पदले सरकारविरुद्ध भाषण गरेर हिँड्ने, संविधान मिचियो, प्रतिनिधिसभा विघटन गरेर वेठिक भयो भन्न मिल्छ ।’
