काठमाडौँ, ८ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा निर्वाचन हुने बताएका छन् ।
काठमाडौँ महानगरपालिका–५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उनले चुनावका लागि तयार हुन आग्रहसमेत गरे ।
राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपरेको उनको भनाइ छ । उनले भने, ‘‘चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्नेछन् । जनताभन्दा ठूलो न्यायाधीश अरु कोही हुँदैनन् । यसैले ताजा जनादेशका लागि सबै तयार हुनुपर्छ ।’’ निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा विकास र समृद्धिको सपना साकार हुने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।
वाग्मती प्रदेश सरकार र स्थानीय जनसहभागितामा भीमसेनथान मन्दिरको पुनर्निर्माण गरिएको हो । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ ‘क’का प्रदेश सांसद नारायण सिलवालले मन्दिर पुनर्निर्माणमा पहल गरेका थिए । सो अवसरमा उनले मन्दिर पुनर्निर्माण गर्न सफल भएकामा खुसी व्यक्त गर्दै हाँडीगाउँवासीको सहयोगकै कारण योजना सफल भएको बताए ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका सबैखाले विकास निर्माणका कामका लागि आफू प्रतिबद्ध रहेको बताए । संस्कृति र सम्पदा बचाउनका लागि महानगरले धेरै काम गरिरहेको उनको भनाइ थियो । रासस