सञ्चालनमा छैनन् अधिकांश सीसीटीभी

भरतपुर, ३ फागुन । जिल्लाका सार्वजनिक क्षेत्रमा जडान गरिएका अधिकांश सीसीटीभी क्यामरा बिग्रिएका छन् । सरकारी निकायको आवश्यक समन्वय र चासो नहुँदा सीसीटीभी मर्मत हुन नसकेका हुन् ।

सीसीटीभी सञ्चालन नहुँदा आपराधिक घटना भइहाले अपराधीलाई चाँडो पक्राउ गर्न र जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउन प्रहरीलाई समस्या हुने गरेको छ । प्रहरीले सीसीटीभीको अभावले काममा कठिनाइ भएको बताउँदै आएको छ । जिल्लामा हालसम्म ४० वटा सीसीटीभी सडकमा जडान भएका छन् । तीमध्ये १४ वटामात्र सञ्चालनमा छन् । त्यही पनि सामान्य खालका मात्र छन् । 

जिल्लामा थप ४२ स्थानमा सीसीटीभीको अतिआवश्यकता पहिचान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । भरतपुर महानगरपालिकाको २९ स्थान, रत्ननगर नगरपालिकाको सात स्थान र खैरहनीको ६ स्थानमा थप सीसीटीभीको अतिआवश्यकता पहिचान गरिएको हो । हाल जिल्लाका ४० स्थानमा रहेका सीसीटीभीमध्ये भरतपुर महानगरपालिकाको ३७ स्थान, इच्छाकामना गाउँपालिकाको मुग्लिन र कालिका नगरपालिकको जुटपानीमा छ ।

थापाका अनुसार सीसीटीभी अभाव हुँदा शान्ति सुरक्षा कायम गर्न र अपराध अनुसन्धान गर्न जटिल हुने गरेको छ । यस्तै ट्राफिक व्यवस्थापन तथा दुर्घटना हुँदाको अवस्था बुझ्न पनि ट्राफिक प्रहरीलाई अप्ठ्यारो भएको छ । विभिन्न अनुसन्धान गर्न कुनै पसलले वा अफिसले राखेको सीसीटीभीमा गएर प्रहरीले हेर्नुपर्ने अवस्था रहेको थापाले बताए । “जिल्ला प्रवेश गर्ने कुनै नाकामा सीसीटीभी छ भने कुनैमा छैन, भएका पनि आधुनिक छैनन्,” उनले भने । पुलचोक र मुग्लिनमा सीसीटीभी छन् भने फिसलिङ र लोथरमा छैनन् । अर्को जिल्ला प्रवेश नाका माडी भए पनि उक्त स्थानलाई हाल अतिआवश्यकमा नसमेटिएको थापाले जनाए । “थप पहिचान गरिएका स्थानमा सीसीटीभी नभई हुँदैन भनिएको हो । त्यति भए यथेष्ट हुन्छ भन्ने होइन,” थापाले भने ।

सडकमा जडान गरिएका सीसीटीभीको कन्ट्रोल रुम प्रहरी कार्यालयमा राखिन्छ तर सीसीटीभी राख्ने काम सरकारले गर्नुपर्ने हुन्छ । विशेषगरी सीसीटीभी जडान तथा मर्मत गर्ने काम स्थानीय सरकारको हुन्छ । स्थानीय सरकार तथा सङ्घीयता आउनुअघि विभिन्न संघ-संस्था तथा सडक डिभिजनको समन्वयनमा सीसीटीभी जडान गरिने गरिएको भए पनि हाल उक्त काम हुन सकेको छैन । चितवनका स्थानीय सरकारले भएका सीसीटीभी पनि मर्मत गर्न सकेका छैनन् भने नयाँ जडानको काम थाल्न पनि सकेका छैनन् । रासस
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको

काठमाडौँ, १५ चैत । सरकारले विभिन्न मुख्य पाँच निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ५३