काठमाडौँ, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर देशलाई बर्बाद बनायो भन्नेहरु देशविरोधी भएको बताएका छन् ।
आज काठमाडौँमा अपांगता भएका व्यक्तिहरुको समस्या र सवाल विषयक अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद् विघटन भयो भनेर कराउनेहरु लोकतन्त्र र देशविरोधी भएको बताएका हुन् ।
उनले भने, ‘संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन् । ती कराउने मान्छेहरु संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी मान्छेहरु हुन् ।’ “अस्तव्यस्त भयो भने देशमा स्थायित्व हुन नदिने ?, “बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउनुपर्छ रे । संसद् भनेको जालझेल हो ? पाँचैवर्ष जागिर खाने हो ? अरुको इशारामा काम गर्ने भएपछि यस्तै हुन्छ ।”
प्रधानमन्त्री ओलिले आफु पनि अलिअलि अपांगता भएको बताउदै उनले भने, म पनि अलिअलि अपांगता भएको व्यक्ति हुँ । अर्काको किड्नीको सहारा लिनुपरेको छ, “अपांगता कमबेसी होला । अपांगता होइनौं भन्ने ठूला व्यक्तिहरु मानसिकरुपमा झन् बढी अपांगता भएका व्यक्ति छन् । दुईवटा किड्नी फेरेको प्रधानमन्त्री विश्वमै छैनन् होला ।”