वीरगञ्ज, २४ पौष । वीरगञ्जबाट १०७ केजी चरेससहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले बुधबार राति मकवानपुरको थाहा नगरपालिका–११ बस्ने ३४ वर्षीय रविन तामाङलाई वीरगञ्ज–२१ स्थित परवानीपुरदेखि ड्राइपोर्ट सडक खण्डमा ना ६ ख ५६४३ नम्बरको कन्टेनरबाट उक्त परिमाणको चरेससहित पक्राउ गरेको हो ।
कन्टेनरको मालिक पनि तामाङ नै रहेकोले उनले नियमित रुपमा चरेस लगायत विभिन्न लागूऔषध भारततर्फ ओसारपोसार गरिरहेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । तामाङ विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले नै पर्सा जिल्ला अदालतमा लागूऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको छ ।