काठमाडौँ, २४ पौष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहबीच प्रदेश १ मा आरोप प्रत्यारोप, कारवाही र स्पष्टिकरणको दोहोरी निरन्तर चलिरहेको छ ।
एक साता अघि मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि ओली र प्रचण्ड–नेपाल समूहबीच सुरु भएको राजनीतिक द्धन्द एकले अर्को समूहलाई कारबाही र पार्टी भित्रका पदमा निषेध गर्दै मुख्यमन्त्री फेर्नेसम्म पुगेको छ ।
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेसँगै नेकपा भित्र देखिएको फुटपछि त्यसको सबैभन्दा बढी असर प्रदेश १ को सरकारमा परेको हो । मन्त्री हटाउनेदेखि मुख्यमन्त्रीलाई अविश्वासको प्रस्ताव दर्तासँगै सुरु राजनीतिक गतिरोधले मुख्यगरी प्रदेशको राजधानी तातेको छ ।
दैनिक हुने गुट भेलासँगै हुने समूहगत निर्णयले प्रदेश सरकारले गर्ने सम्पुर्ण काम ठप्प हुँदै आरोप प्रत्यारोपको भुमरीमा मन्त्री र मुख्यमन्त्रीनै फसेका छन् । माघ ७ गते बोलाएको संसद बैठकले मुख्यमन्त्रीविरुद्ध परेको अविश्वास प्रस्तावको छिनोफानो गर्ने भएपनि दुई समूहमा विभाजन भएका नेकपा सांसदको समूहले स्पष्टिकरण सोध्ने र दलको नताबाट हटाउने सम्मका निर्णय रोकेका छैनन् ।
पछिल्लो पटक बुधबार प्रचण्ड माधव समूहले मुख्यमन्त्री शेरधन राई र मन्त्रीसहित ८ जनासँग स्पष्टिकरण माग गरेको छ । यस अघि मुख्यमन्त्री विरुद्ध एकैपटक ३७ सांसदले हस्ताक्षर गर्दै अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सबै सांसदलाई २४ घण्टे स्पष्टिकरण माग्दै १६ सांसदलाई निलम्बन गरेको थियो ।
अहिले पुन : प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईसहित आठ जनासँग २४ घण्टे स्पष्टिकरण सोधेको छ । स्पष्टिकरण सोधिएकालाई प्रचण्ड–माधव समूहले निलम्बन गर्ने तयारी समेत गरेको छ । यो समाचार आजको अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।