काठमाडौँ, २३ पौष । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।
पीडित सहायता इकाईबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले सोह्रखुट्टेस्थित सडकखण्डबाट बा ९२ प ७६३० नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलसहित धादिङको निलकण्ठ नगरपालिका – ९ मुरली भन्ज्याङ्गका २६ वर्षीय राजन मगर र थाक्रे गाउँपालिका-१ देवीस्थानका २१ वर्षीय राजन तामाङलाई पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको वास्तविक नम्बर प्रदेश ३-०२-०१२ प ९८३५ खुल्न आएको ट्राफिक महाशाखाले जनाएको छ । पर्साको ठोरी गाउँपालिकाका पूर्ण बहादुर थापाले उक्त नम्बरको मोटरसाइकल काठमाण्डौं सोह्रखुट्टेस्थित सडक खण्डबाट हराएको भन्दै खोज तलासका लागि ट्राफिक महाशाखामा उजुरी दिएका थिए ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।