जनकपुर, २१ पौष । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकता नै अहिलेको आवश्यकता रहेको औंल्याउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी एकताविरुद्ध जानेहरुको अन्त्य निश्चित रहेको बताउनुभएको छ ।
मंगलबार जनकपुरमा नेकपा ओली समूहद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले पार्टी एकता भएको ३ वर्ष नवित्दै आफ्नै अध्यक्षविरुद्ध पार्टी भित्रैबाट एकता विरोधी गतिविधि भएको गुनासो गर्नुभयो ।
नेकपाका स्थायी समिति सदस्य समेत रहेका उपप्रधानमन्त्री पोखरेलले अझै पार्टी एकता जोगाउन सकिने बताउँदै भन्नुभयो, ‘म एकताको पक्षमा दृढ छु ।’
उपप्रधानमन्त्री पोखरेलले प्रचण्ड र माधव नेपाल सरकार र पार्टी विरोधी गतिविधिमा लागेको आरोप भन्नुभयो, ‘प्रचण्ड–माधवहरु प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्नका लागि सरकार र पार्टी विरोधी हर्कतमा अन्तिम समयसम्म पनि लागि परे ।’
कार्यक्रममा पूर्वमन्त्री तथा स्थायी समिति सदस्य रघुवीर महासेठले जनकपुरको तत्कालिन नेकपा एमालेको पार्टी कार्यालय कब्जा गर्न खोज्नेको कडा आलोचना गर्नुभयो ।