काठमाडौँ, १९ पौष । प्रधानमन्त्री केपी ओलीले पार्टी फुटाउनकै लागि मात्रै प्रचण्ड र माधवले खुमलटारमा २८० र अरु ३५ बैठक बाहिर बसेको खुलासा गरेका छन् ।
आज बबरमहलमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले भने, “नेतृत्व खुइल्याउन र पार्टी फुटाउन मात्रै २८० बैठक त खुमलटारमै बसेका रहेछन् । अरु ३५ बैठक बाहिर बसेका रहेछन् ।”
नेकपाका अध्यक्ष समेत रहेका उनले कुनै हालतमा संसद पुनर्स्थापना नहुने दाबी गरे । संसद पुनर्स्थापनाको माग गर्दै परेको मुद्दामा सर्वोच्च अदालतमा फिराद पत्र दर्ता गराएर आएको भन्दै उनले भने, ‘परशुरामका बाबुको पालामा जस्तो मरेका आमा बौराइपाऊँ भन्दा हुन्छ र ?’
प्रधानमन्त्री ओलीले वैशाखमा तोकिएकै समयमा चुनाव हुने दाबी गरेका छन् । उनले भने, “चुनाव हुँदैन भनेर कतिपयले भ्रम सिर्जना गरेका छन् । ढुक्क हुनुस् वैशाखमा तोकिएकै समयमै चुनाव हुन्छ ।”