काठमाडौँ, ९ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोभिड विरुद्धको भ्याक्सिन (खोप) प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरि तयारी भएको बताएका छन्।
आज विश्व प्रति-जैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुने वित्तिकै भ्याक्सिन नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको बताएका हुन् ।
उनले भने, ‘अहिले परीक्षणका क्रममा रहेका भ्याक्सिनहरु प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले पनि सहज रुपमा प्रयोग गर्न पाउने गरी आयात सहज बनाउन अध्यादेश मार्फत कानून संशोधन गरिएको छ । औषधि व्यवस्थापन, उपलब्धताका लागि सहज होस भनेर कानूनी रुपमा अध्यादेशबाट औषधि आयात गर्न सहज बनाइएको छ । भ्याक्सिन सजिलै प्रयोगमा ल्याउन सकियोस भनेर कानूनी अफ्ठ्यारो नपरोस भनेर कानूनी बाटो खुला र सहज गरिएको हो । भ्याक्सिन अन्य देशले आफ्ना नागरिकमा प्रयोग गर्ने वित्तिकै नेपाली जनताले पनि प्रयोग गर्न सकियोस् भनेर सरकारी र गैरसरकारी तर्फबाट पहल गरिनेछ ।’
मन्त्री ढकालले कुनै एक प्रयोजनका लागि उत्पादन भएको औषधिहरु म्याद सकिएपछि पनि अर्को प्रयोजनका लागि प्रयोग गर्दा समस्या देखिने गरेको बताए । उनले तरकारी, फलफुल लगायतमा प्रयोग हुने कीटनाशक औषधिका कारण पनि मानवजीवनमा विभिन्न समस्या देखिने गरेको बताए ।