डोटी, २५ कार्तिक । मोटरसाइकलको ठक्करबाट डोटीमा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख धर्मानन्द जोशीका अनुसार मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका ४, पिपल्लाकी ७० वर्षीया टीकेश्वरी विक छन् ।
डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा हिँडिरहेको अवस्थामा से.५प ९४६९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सख्त घाइते विकको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी पोस्ट पिपल्ला बजारका प्रमुख (प्रहरी सहायक निरीक्षक) खेमराज भट्टले जानकारी दिए ।
ठक्कर दिने मोटरसाइकल घटनास्थलमै छाडी चालक भागेकाले मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस