विराटनगर, २५ कार्तिक । फाल्गुनन्द दिवसको अवसरमा प्रदेश १ मा आज सार्वजनिक विदा दिइएको छ ।
किरात धर्मको समाज सुधारका रुपमा परिचित महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको दिन प्रदेश १ मा सार्वजनिक विदा दिइने गरेको छ । किरात धर्मालम्बीहरुले धुमधामका साथ मनाउँदै आएको फल्गुनन्द दिवसका दिन प्रदेश १ सरकारले प्रदेश भरी सार्वजनिक विदा दिँदै आए अनुसार यस बर्ष पनि सार्वजनिक विदा दिएको हो ।
नेपाल सरकारबाट २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषित महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ कार्तिक २५ गते भएको थियो । सामाजिक कुरीति , विकृति हटाउन किराती वेद मुन्धुमका व्याख्याता एवं समाज सुधारका फाल्गुनन्द लिङ्देनको नेतृत्वमा विसं १९८८ बैशाख २५ गते पाँचथरको लेबेरकुटीमा मांहासार र मदिरा सेवन निषेध गर्ने सहमति सम्भव भएको थियो ।
इतिहासमा यो घटनालाई सत्य हाङमा धर्म मुचुल्काका रुपमा चिनिन्छ । किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिने फाल्गुनन्दले किरात समुदायमा मासु र मदिरा खान नहुने छोरीलाई समेत छोरा सरह समान शिक्षा र अधिकार दिइनुपर्ने , जन्म, विवाह र मृत्यु संस्कार गर्दा मासुको साटो फलफुल प्रयोग गर्नुपर्ने , विवाह रीतका नाममा सम्पत्ति तथा दाम लिन नहुने स्वदेशी कपडा प्रयोग गरिनु पर्ने सिरजंगा लिपि प्रचलनमा ल्याुउनु पर्ने लगायतका सामाजिक सुधार अभियान चलाएका थिए ।
उनको २००५ चैत्र २२ गते ६६ बर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन भएको थियो । उनले महिलालाई पनि पुरुष समान अधिकार र सम्मान दिनु पर्ने सन्देशको प्रचार गरेर फाल्गनन्दले लैंगिक समानताको वकालत गरेका थिए ।