काठमाडौँ, २४ कार्तिक । थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कैलालीमा कोरोना संक्रमणबाट सोमबार बिहान २ जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ का ९० वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका २ का ८४ वर्षीय पुरुषको सोमबार बिहान कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
२० गते कोरोना पुष्टि भएका टीकापुरका पुरुष होम आइसोलेसनमा बसिरहेका थिए । होम आइसोलेसनमा रहेकै बेला उनको मृत्यु भएको टीकापुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए ।
धनगढीका ८४ वर्षीय पुरुषमा भने कडा प्रकारको निमोनिया देखिएको थियो । शुक्रबारदेखि अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको सोमबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।
त्यस्तै रुपन्देहीमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो । कात्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको उपचारका क्रममा सोमबार बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले पुष्टि गरे । उनी मिर्गौला र कलेजोका दीर्घरोगी रहेका डा. गौतमले जानकारी दिए ।