काठमाडौँ, २४ कार्तिक । काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम निरन्तर जस्तै घट्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज बिहान पनि काठमाडौँको न्यूनतम तापक्रम जाडो सुरु भएयताकै कम ८ डिग्री सेल्सियसमा झरेको छ । केही दिनयता देशका अरु ठाउँको न्यूनतम तापक्रम पनि लगातारजस्तै नै घट्दै गएको छ । हिजो जुम्लाको न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियसमा झरेको थियो । यस्तै जोमसोमको ५ डिग्री, जिरीको ३, डडेलधुराको ८ दशमलव ३ र ओखलढुङ्गाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको थियो ।
२/३ वर्षयतालाई हेर्ने हो भने यो वर्ष अलि छिट्टै जाडो बढेको महाशाखाले जनाएको छ । मौसम सफा भएकाले न्यूनतम तापक्रम घटेको र अरु कुनै कारण नभएको मौसमविद्ले जनाएको छ ।
आज दिउँसो कुहिरो बिस्तारै हटेर घाम लाग्ने छ । देशका अरु ठाउँको मौसम भने दिनभर सामान्यतया सफा नै रहन्छ । बेलुकातिर फेरि देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना छ ।