काठमाडौँ, २३ कार्तिक । नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली विकसित नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।
त्यस्तै आज दिउँसो प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश, लुम्विनी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आज राति प्रदेश १ र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
आज बिहान पनि काठमाडौँ उपत्यकाको तापक्रम जाडो सुरु भएयताकै कम ९ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेको थियो । अस्ति शुक्रबार १० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो ।
राति आकाशमा बादल नलागेकाले न्यूनतम तापक्रम घटेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।