काठमाडौँ, २१ कार्तिक । उपप्रधानमन्त्री इश्वर पोखरेलले पार्टी एकताका निम्ति समिकरण बनाउने कुरा घातक हुने चेतावनी दिनुभएको छ । उहाँले पार्टीका कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल तथा नारायणकाजी श्रेष्ठलगायतका नेतृत्वले गुटको राजनीति गरिरहेको प्रति लक्षीत गर्दै उहाँले गुटको राजनीतिले पार्टीलाई फुटको संघारमा पुर्याएको उल्लेख गर्नुभयो ।
काठमाडौँ क्षेत्र नम्बर ५ का अगुवा नेता, कार्यकर्ताहरुसँग शुक्रबार अन्तरक्रियाका पार्टी एकताको महत्वलाई सविस्तार व्याख्या गर्दै उपप्रधानमन्त्री पोखरेलले अहिलेको समस्यालाई पार्टी, पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने सम्बन्धमा यसअघि स्थायी कमिटी बैठकले गरेका निर्णयको धरातलमा उभिएर हेर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले स्थायी कमिटीको त्यस निर्णय विपरित खेल हुन थालेपछि समस्या देखापरेको बताउनुभयो । स्थायी कमिटी बैठकले गरेका निर्णयलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पार्टी एकतालाई सुदृढ गर्नका लागि स्थायी कमिटीका निर्णयलाई विनासर्त कार्यान्वयन गर्नुपर्ने थियो । त्यसो नभएर फेरि पार्टीभित्र समीकरण बनाउने जुन प्रयास र खेल भयो त्यो ठिक भएन । पार्टी एकताका निम्ति समिकरण बनाउने कुरा घातक हुन्छ ।’
क्रममा अगुवा नेता⁄कार्यकर्ताले पार्टीभित्रको समिकरण निर्माण र त्यसले निम्त्याएको संकटबारे चासो व्यक्त गर्नुभएको थियो । सो अवसरमा उपप्रधानमन्त्री समेत रहेका पोखरेलले पार्टी केन्द्रको विवाद र असहज परिस्थितिले निम्त्याएको अन्यौलताबारे कार्यकर्ताले राखेको चासोलाई सम्बोधन गर्नुभएको थियो ।