नेपाल–भारत सीमा समस्या चमत्कारिक ढंगले टुङ्गिन्छः सांसद बस्नेत

काठमाडौँ, १५ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीकै नेतृत्वमा नेपाल–भारत सीमा समस्या चमत्कारिक ढंगले टुङ्गिने बताउनुभएको छ ।

प्राइम टेलिभिजनमा एक अन्तरवार्ता दिँदै सांसद बस्नेतले प्रधानमन्त्री ओलीले खेल्नुभएको भूमिकाले नेपाल–भारतको सीमा समस्या समाधान भई नेपालीको लागि सुखद् क्षण आउने बताउनुभयो । आलोचनाभन्दा पनि सीमा समस्या समाधानको लागि परिणाममा हेर्नुपर्नेमा जोड दिँदै उहाँले नेपालसँगका सीमा समस्या लगायतका अन्य समस्याहरु समाधान गर्नको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुतको रुपमा रअ प्रमुख सामन्तकुमार गोयल तथा सेना प्रमुख मनोज मुकुन्द नरवाणे पठाई समस्या समाधानमा पहल लिनुभएको जानकारी गराउनुभयो । भारतीय सेना प्रमुखको नेपाल भ्रमण समेत मोदीकै पहलमा सीमा समस्या समाधानको लागि कुटनैतिक पहलबाट हुन लागेको बताउनुभयो ।

प्रधानमन्त्रीलाई रअ प्रमुखले भेटेको विषयमा आलोचना भइरहेको सन्दर्भमा उहाँले भन्नुभयो, ‘एउटा लोक कल्याणकारी राज्यको प्रधानमन्त्रीले रअ प्रमुख सामन्तकुमार गोयलललाई भेट्नु कुटनैतिक तवरले अन्यथा लिनु पर्दैन । हामी पनि दिल्ली गएको समयमा त्यहाँका शिर्ष नेतासँग भेटघाट गर्ने गरेका छौं । त्यसैले त्यसलाई धेरै अन्यथा ठान्नु पर्दैन । सिके राउतसँग शान्ति सम्झैता गराई राज्यको मुल धारमा ल्याउँदा तथा विप्लब समुहका विरुद्ध अलि कडा रुपमा प्रस्तुत हुँदा पनि केही व्यक्तिहरुले आलोचना गरेकै थिए । तर त्यसको परिणाम सुखद् आएपछि आलोचना गर्नेको आवाज बन्द भएको छ । त्यस्तै परिणाम देखिएपछि बजारमा स्यालहुँइया गर्नेहरुको मुख क्रमश बन्द हुन्छ ।’

नेपाल क्षेत्रफलको आधारमा सानो भएता पनि राष्ट्र, राष्ट्रियता, सार्वभौमिकतालगायतका कुराहरु समान हुने उल्लेख गर्दै उहाँले प्रधानमन्त्री ओलीको कुटनैतिक एक कदमले विश्वको सामु नेपालीको शिर उचो बनाएको बताउनुभयो । सानो ठूलो मुलुकको सार्वभौमसत्ता समान भएको स्थापीत गराउन प्रधानमन्त्री ओली सफल हुनुभएको उल्लेख गर्दै सांसद बस्नेतले विगतका दिनहरुमा नेपालले कुनै पनि कुराको लागि भारतको गुलामी गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै प्रधानमन्त्री ओलीले नेपालले मात्र भारतलाई खोज्ने नभई भारतले समेत नेपाललाई खोज्ने कार्यको प्रारम्भ भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मुलुक सानो वा ठूलो होला तर सार्वभौमसत्ता सानो र ठूलो नभई समान हुन्छ भन्ने प्रधानमन्त्री ओलीले स्थापित गराउनुभयो । सहअस्थित्मा हिड्नुपर्छ भन्ने मान्यतालाई स्थापीत गराउनुभयो । जसले नेपाल र नेपालीको शिर विश्वसामु उचो भएको छ । गर्वका साथ नेपाली भनि उभिन पाएका छौं ।’

रअ प्रमुखसँग प्रधानमन्त्री ओलीको भेट भएको विषयमा प्रधानमन्त्री विरुद्ध पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्ती पार्टी तथा सरकार विरुद्ध भएको उल्लेख गर्नुभयो । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री र रअ प्रमुख गोयलबीच भएको भेटलाई नकरात्मक ढंगले विश्लेषण गर्नु दुःखद् भएको उल्लेख गर्दै उहाँले पार्टीको प्रवक्ताले व्यक्तिगत धारणा विभिन्न माध्यममा प्रस्तुत गर्नु नहुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले पार्टीको कुनै पनि संगठनमा जिम्मेवारी अंगाल्दा पार्टी भित्र व्यक्तिगत हितलाई पार्टी, संगठन र देशको हितमा राख्छु भन्ने नेतृत्वले सपथमा नै प्रतिवद्धता गरेकाले व्यक्तिगत हितका कुरा गर्ने नै हो भने पार्टीका प्रवक्ताबाट राजिनामा दिनुपर्छ, तबमात्र उहाँले आफ्नो व्यक्तिगत धारणा राख्न पाउनुहुन्छ । नत्र भने उहाँको धारणा पार्टीको हुन्छ । त्यसैले उहाँले प्रधानमन्त्री विरुद्धको अभिव्यक्ति दिनु गैरजिम्मेवारीपन हो ।’

पार्टी प्रवक्ता श्रेष्ठ तथा डा. भिम रावल प्रति लक्षीत गर्दै उहाँले धेरै इमोसनमा आएर उग्रराष्ट्रवाद, भावुक राष्ट्रवादको कुरा गर्नुको अर्थ नहुने उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष चाँही बेठिक म चाँही ठिक भन्नुको कुनै औचित्य नभएको समेत स्पष्ट पार्नुभयो ।

कम्युनिष्ट पार्टी नेता प्रधानभन्दा पनि नीति प्रधान हुने भएकोले वहस र तर्क हुनु स्वभाविक भएको उल्लेख गर्दै उहाँले नेतृत्वद्वारा वार्ता र छलफलको माध्यमबाट समस्या समाधान हुन बताउनुभयो । पार्टी कुनै पनि हालत नफुट्ने दावी गर्दै उहाँले पार्टी भित्र सिद्धान्त, संघर्ष, संगठन र सिर्जनसिलताका कुरा महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । कतिपय कुराहरुमा नेताहरुको समान धारण नभएकाले नेतृत्वले घुर्कि देखाउने गरेको उल्लेख गर्दै उहाँले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध प्रधानमन्त्री ओली नजिकका नेता भन्दा पनि माधव कुमार नेपालका नजिकका नेतृत्वबाट शुरुदेखी नै आक्रोस रहँदै आएको जसमा प्रधानमन्त्री नजिककाको समेत समर्थमनमा अविश्वासको प्रस्ताव आउने अवस्था सिर्जना भएको बताउनुभयो ।

उक्त कुरा दुई अध्यक्षले वेठिक भएको भनि समझदारी बनेको उल्लेख गर्दै उहाँले कर्णाली प्रदेशको समस्या विधि र पद्धतिको कुरा गर्ने नेतृत्वले लेनदेनमा मिलाउनु राम्रो लक्षण नभएको समेत बताउनुभयो । उहाँले कर्णालीको विवादका विषयमा जसमा अध्यक्ष प्रचण्डको भूमिका अन्योलग्रस्त देखिएको, यसो गर्ने हो की उसो गर्ने हो भनि अनिर्णित भएको समेत बताउनुभयो ।

प्रदेश नं. २ मा नेकपाकै कार्यकर्ताबीच झडपमा प्रदेश सदस्यको मृत्यु हुने दुःखद् भएको भएको बताउँदै पार्टीभित्रको अन्तरविरोध हार्दिकता तथा मित्रतापूर्ण हुने पर्नेमा जोड दिँदै उहाँले पार्टी तथा सरकारले उचित छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

मन्त्री, राजदुतलगायतका नियुक्ति गर्ने प्रधानमन्त्रीको नैसर्गिक अधिकार भएकाले पार्टीले अस्तक्षेप गर्नु नमिल्ने भन्दै उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले पार्टीका दसौं जना, विपक्षी दलका दसौं जनालाई दैनिक भेटघाट गरी सहमति लिने प्रयास मात्र गर्ने हो भने मुलुकलाई समृद्धिको यात्रामा कहिले लैजाने ? त्यसैले प्रधानमन्त्रीले पार्टी तथा नेतृत्वसँग आवश्यकता अनुसार राय सुझाव लिने हो तर निर्णय आफैले गर्ने हो ।’

माधव र प्रचण्डले प्रधानमन्त्रीको विरुद्धमा एकताका साथ अभियान चलाउन नसक्ने उल्लेख गर्दै उहाँले प्रधानमन्त्री ओलीको विरुद्धमा लागे प्रचण्डलाई सवैभन्दा ठूलो क्षती पुग्नेसमेत आक्रोस व्यक्त गर्नुभयो । सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी तथा संसदिय दलमा प्रधानमन्त्री ओली बहुमतमा हुनुभएको दावी गर्दै सांसद बस्नेतले अबको महाधिवेशनमा प्रधानमन्त्री केपी ओलीको सहानुभुति जसमा भयो उ नै अवको पार्टीका अध्यक्ष बन्ने समेत उल्लेख गर्नुभयो ।

माधव र प्रचण्ड गुट मिलेर अगाडी बढेमा पनि सोही टिमका नेतृत्वले गुट तथा गलत गतिविधिलाई साथ नलिई प्रधानमन्त्रीलाई साथ दिने निश्चित रहेको उल्लेख गर्दै उहाँले त्यसलाई कार्यकता तथा मुलुकले साथ नदिने बताउनुभयो । स्थायी कमिटीको बैठकले गरेका निर्णयहरुको मसी सुक्न नपाउँदै प्रधानमन्त्रीको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउने कुरा काइते तथा षड्यन्त्रमूलक तर्क मात्र भएको आक्रोस व्यक्त गर्नुभयो ।

स्थायी कमिटीको बैठकले पार्टी सञ्चालन गर्ने जिम्मा प्रचण्डको र सरकार पाँच वर्ष नै चलाउने काम ओलीको भएको भनि स्पष्ट म्याण्डेट दिएको स्मरण गराउँदै उहाँले माधव र प्रचण्डको सरकारलाई साथ नदिने र किचकिच मात्र गर्ने भएकाले आम जनमतसमेत दुवैको विरुद्धमा जनमत शुरु भएको समेत बताउनुभयो ।

पार्टी भित्र पहिलो शक्ति ओली, दोस्रो शक्ति प्रचण्ड र तेस्रो शक्ति माधव नेपाल रहेकोमा पार्टीमा तेस्रो शक्ति केही समयको लागि निर्णायक हुने तर अन्तिममा सक्किने विगतको इतिहाँस कोट्याउँदै उहाँले माधव नेपालले कहिले प्रचण्ड त कहिले केपी ओलीलाई प्रयोग गरेर जाने तरिका अपनाए तेस्रो शक्ति सक्किने निश्चित रहेको समेत बताउनुभयो ।

महाधिवेशनमा अध्यक्ष प्रचण्डले केपी ओलीको उत्तराधिकारीको रुपमा प्रस्तुत गर्न नसकेमा तथा ओलीले पुनः अध्यक्षमा दावी नगरेको खण्डमा माधव नेपालको अध्यक्ष बन्ने सम्भावना उच्च रहेको दावी गर्दै उहाँले प्रधानमन्त्री ओलीसँग प्रचण्डले सहकार्य नगरेमा प्रचण्डको सम्भावना समेत सुरक्षित नहुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीको उत्तराधिकारीको रुपमा प्रस्तुत नगरेमा तथा पुनः अध्यक्षको रुपमा केपी ओलीले दावी नगरेको खण्डमा माधव नेपालको अध्यक्ष बन्ने सम्भावना बढी रहेको देखिन्छ । त्यस्तै माधव नेपालले पनि केहिले ओली त कहिले प्रचण्डलाई प्रयोग गरी अगाडी बढ्ने रणनीति लिएमा केही समय त निर्णायक शक्ति होला तर अन्तिममा सक्किन्छ । त्यसैले एकलाई अंगालेर जानुको अर्को विकल्प छैन । वर्तमान समयमा प्रधानमन्त्री केपी ओलीको विकल्प केपी ओली नै हो, अब ओलीको विकल्प अर्को पुस्तामात्र हुन सक्छ । यो कुरा नेतृत्वले बुझ्न जरुरी रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ बाट लोकेश बमले शतक बनाएका छन् ।  पहिलो टी–२०

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड