उद्घाटनको पर्खाइमा साँगाको झोलुङ्गे पुलः आन्तरिक पर्यटकको घुँइचो (फोटोफिचर)

भक्तपुर, १३ कार्तिक । काठमाडौँ उपत्यकाको पर्यटकीय गन्तव्यको रुपमा स्थापीत भक्तपुर र काभ्रे जिल्लाको सीमानामा पर्ने साँगामा आन्तरिक पर्यटकको क्रमिक रुपमा आवागमन शुरु भएको छ ।

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनसँगै सुस्ताएको साँगाको कैलाशनाथ महादेवको मन्दिर तथा उक्त स्थान नजिकै नवनिर्मित झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको घुँईचो लाग्ने थालेको छ ।

प्राकृतिक मनोरमको रुपमा रहेको साँगाबाट उपत्यकालाई नियाल्न मात्र सकिने नभई दर्जनौं हिमालहरुको दृष्यावलोकन गर्न सकिन्छ । स्वच्छ वातावरण, मनोरम ठाउँ, हरियाली, सफा, सुन्दर र हराभरायुक्त साँगामा आन्तरिक पर्यटकको रोजाईको ठाउँमात्र नभई सयौं स्थानीयवासीलाई रोजगारी तथा आयआर्जनको बाटो समेत बनेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा करिव १ करोडको लागतमा निर्माण गरिएको उक्त झोलुङ्गे पुलमा साँगाको मन्दिरबाट सूर्यविनायक नगरपालिका वडा नं. ९ र १० का स्थानीयवासीलाई आवतजावतमा समेत सहजता ल्याएको छ । कोरोनाका कारण उद्घाटनको प्रतिक्षामा रहेको उक्त झोलुङ्गे पुलबाट हजारौंले सुविधाको प्रयोग गर्न थालिसकेका छन् ।

आन्तरिक पर्यटकहरु पुलको मध्यभागमा गई उपत्यकालाई नियाल्दै उत्साहित भएको देखिन्छ । वृद्धवृद्धा, युवा युवाती तथा वालवालिकाको समेत रोजाईमा परेको उक्त स्थानले भक्तपुरको विकास र समृद्धिको यात्रामा एउटा महत्वपूर्ण इँटाको रुपमा स्थापीत भएको छ । झोलुङ्गे पुलमा पुग्दा लाग्यो कि कोरोनाको कहरलाई मानिसले विर्सिएर प्राकृतिक मनोरममा रमाइरहेका छन्, पर्यटकले दृष्यावलोकनको साथमा उपत्यकालाई केन्द्रविन्दु बनाई सेल्फी लिइरहेका थिए, खुसीयाली मनाइरहेका थिए, प्राकृतिसँग रमाइरहेका थिए । यो देख्दा लाग्छ कि, साँगाको मन्दिर र झोलुङ्गे पुल आगामी दिनमा भक्तपुरको आर्थिक तथा पर्यटकीय दृष्टिकोणमा महत्वपूर्ण कोसेढुङ्गाको रुपमा मात्र स्थापीत हुने छैन, विकास र समृद्धिको यात्रामा एउटा महत्वपूर्ण इँटा थप्नेछ ।

सुन्दर प्राकृतिक वातावरण, डाँडाकाँडा सहित हिमाल, उपत्यका तथा काभ्रेका विभिन्न ठाउँहरुको दृष्यावलोकन गर्न सकिने उक्त स्थानमा घुम्न जाने रोजाईको ठाउँ बनेको छ । साँगाको मन्दिरको झोलुङ्गे पुलले अर्को महत्वपूर्ण उपलब्धीको रुपमा स्थापीत भएको छ । दैनिक हजारौंले पुलमा गई उपत्यकाको दृष्यावलोकनको साथ साथै सयौंले आर्थिक उपार्जनको माध्यम समेत बनेको छ । पुलको आसपासमा विभिन्न प्रकारका पसलहरु सञ्चालन गरी दैनिक रोजगारी वा जीविको पार्जनको माध्यम समेत बनेको छ ।

यसरी आन्तिरिक पर्यटकको महत्वपूर्ण रोजाईमा परेको पुल निर्माण गर्नु हुँदैन थियो, मानिसले आत्महत्या गर्ने गाउँ बन्छ भनि विरोधीले विरोध नगरेका पनि हैनन् । के निउँ पाउँ कनिका विकाऔं भन्नेलाई त के नै लाग्छ र । तर विरोधी पनि उक्त स्थानमा पुगे पछि भन्नेछन् कि हामीले विरोध गरेर जनताको नजरमा घृणीत पात्रको रुपमा स्थापीत भयौं ।

काठमाडौँको नयाँ बानेश्वर बस्दै आउनुभएकी एक आन्तरिक पर्यटक रोश्नी श्रेष्ठले पुलमा रमाउँदै आफ्नो खुसी व्यक्त गर्दै भन्नुभयो, ‘पुल बनाउन स्थान छनौट गर्ने व्यक्तिलाई सलाम छ । यो ठाउँको प्राकृतिक सुन्दरताको बयान नै नगरौं, चारै तिर फर्केर हेर्दा नै थाहा भै हाल्छ । शान्त, सुन्दर र प्राकृतिक मनोरमका खानीको रुपमा रहेको यस स्थानमा म फ्रि हुन साथ घुम्न आउने छु । प्राकृतिक आनन्द लिनेछु । साथीहरुलाई समेत घुम्न जान आग्रह गर्नेछु । आगामी दिनमा यो ठाउँ आर्थिक तथा पर्यटकीय क्षेत्रको मेरुदण्डको रुपमा रहने छ ।’

सूर्यविनायक नगरपालिका वडा नं. ९ का वडाध्यक्ष उपेन्द्र केसीले भक्तपुरको आर्थिक तथा पर्यटकीय विकासको मेरुदण्डको रुपमा साँगा र झोलुङ्गे पुल स्थापीत भएको बताउनुभयो । तीन वटै सरकारले विशेष रुपमा लिएको उल्लेख गर्दै वडाध्यक्ष केसीले आगामी दिनमा उक्त स्थानमा आवश्यक पर्ने भौतिक तथा अन्य पूर्वाधारहरुको समेत विकास र विस्तार गर्दै लैजाने योजना रहेको उल्लेख गर्नुभयो । पुलसँगै अन्य दर्जनौं पर्यटकीय आयोजनाहरुसमेत सँग सँगै जोडेर लैजाने तयारी भइरहेको जनकारी गराउँदै उहाँले उक्त स्थानमा अझ बढी पर्यटकीय गन्तव्य तथा आकर्षणको रुपमा विकास गर्ने योजनाहरु समेत तयार भइरहेको बताउनुभयो ।

जोड बलका साथ साँगा र झोलुङ्गे पुलको निर्माणमा अहोरात्र खट्नुहुने सांसद बस्नेत भन्नहुन्छ, ‘विरोधको नाममा विरोध गर्नेलाई केही भन्न सकिन्न । विरोध गरेर नै आफ्नो दैनिकी विताउनेलाई जनताले नियालेका छन् । जनताको साथ पाएपछि केही अराजक तथा अनावश्यक तत्वहरुको विरोधदेखी आत्तीनु पनि पर्दैन । कुराले हैन कामले गरेर देखाउनुपर्छ । विरोधीहरु आफै पाखा लाग्छन् । साँगाको पर्यटकीय विकासको निम्ती केही कमी हुँ पाउँदैन । उपत्यकाकै सवैभन्दा महत्वपूर्ण पर्यटकीय स्थानको रुपमा विकास हुन्छ । त्यसपछि विकासको विरोधीहरु जनताको नजरमा शिर झुकाएर हिड्नेछन् । त्यो दिन अब धेरै टाढा छैन ।’

कोरोनाका कारण उद्घाटनमा केही ढिलाई भएको पुलमा पर्यटक तथा स्थानीयवासीले भने सेवा सुविधाहरु प्रयोग गर्न थालिसकेका छन् । अब तत्कालै उद्घाटन गरी आन्तरिक तथा वाह्य पर्यटकलाई प्रोत्साहन गर्ने कार्यको प्रारम्भ हुने समेत बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ मंसिर । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) मार्फत ग्राहक महानुभावहरूले आफै मुद्दती खाता खोल्न

काठमाडौँ, १७ मंसिर । आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले

काठमाडौँ, १७ मंसिर । नेपाल राष्ट्र बैंकले रु ५० अर्ब बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट सङ्कलन गर्नेभएको छ । आज  केन्द्रीय बैंकले

काठमाडौँ, १७ मंसिर । नेपाल राष्ट्र बैंकले आज सोमबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate