‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने अभियानमा व्यावहारिक अभ्यासको खाँचो: प्रम ओली

काठमाडौँ, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि गरिव तथा दुखी जनता अभाव, प्रभाव तथा भोकले मुर्न नपर्ने सरकारको महत्वपूर्ण अभियानलाई सार्थकतामा पुर्याउन तीन वटै तहका सरकारले व्यवहारिक रुपमा अभ्यासको खाँचो रहेको औंल्याउनुभयो ।

विश्व खाद्य दिवसका अवसरमा शुभकामना दिदै प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीले अर्थतन्त्र र सीमान्तकृत किसानलाई अझ बढी नकारात्मक असर पारेको बताउनुभएको छ । उहाँले कोरोना महामारीको नकारात्मक असरबाट कृषि क्षेत्रलाई बचाउन र खाद्य सुरक्षा तथा उपलब्धताको सुनिश्चितताका लागि अग्रसर हुन सम्बन्धित निकायलाई आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले कृषि क्षेत्रको उत्पादकत्व वृद्धि तथा दिगो विकासको लक्ष्य प्राप्त गर्न खाद्य दिवसले अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभएको छ । साथै उहाँले कृषि तथा खाद्य सुरक्षासम्बन्धी विषय संघ, प्रदेश र पालिकाको अधिकार सूचीमा रहेको भन्दै तीनै तहका सरकारको तालवद्ध र समन्वयात्मक प्रयासमा जोड दिनुभएको छ । सरकारले अगाडि सारेको ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने नारालाई सार्थक तुल्याउन पनि व्यावहारिक अभ्यासको खाँचो रहेको औंल्याउनुभएको छ ।

विश्व खाद्य दिवस, हाम्रो पहल स् दिगो कृषि, पोषिलो आहार’ नाराका साथ यस वर्ष ४० औं विश्व खाद्य दिवस आज नेपालमा पनि मनाइँदैछ । दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम गरिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग र कृषिका लागि खाद्य अभियानको सहकार्यमा आइतबारदेखि विभिन्न कार्यक्रम गरिएको कृषि विभागका सूचना अधिकारी महादेव पौडेलले जानकारी दिनुभयो ।

अझै पनि ६० प्रतिशतभन्दा बढी नेपाली कृषि कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा कृषिमा संलग्न रहेको तथ्याङ्क छ । कृषि विभागका महानिर्देशक गोविन्दप्रसाद शर्माले कोरोना संकटले कृषिमा अवसर सिर्जना गरेको भए पनि कृषि क्षेत्रलाई व्यवस्थित गर्न नसक्नु कमजोरी रहेको बताउनुभएको छ ।

उहाँले तीन तहका सरकारबीच समन्वयको अभाव खड्किएको समेत बताउनुभएको छ । महानिर्देशक शर्माले रैथाने खाना र खेतीबाली जोगाउनु अहिलेको मुख्य चुनौती रहेको समेत बताउनुभएको छ । स्थानीय विशेषता रहेका अन्नबाली बिस्तारै उत्पादन हुन छाड्नु, अत्याधिक विषादीको प्रयोगले उत्पादनशिल विशेषतायुक्त माटोको क्षमतामा ह्रास आउनु र विस्तारै रैथाने बिउ लोप हुँदै जानु २१ औं शताब्दीको खाद्यान्न व्यवस्थापनको चुनौती मानिएको छ ।

सन् २०१५ मा भएको संयुक्त राष्ट्र संघको दिगो विकास सम्मेलनमा १ सय ९३ देशले आउँदो १५ वर्षभित्र भोकमरी अन्त्य गर्न शून्य भोक अभियान चलाउने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसको दुई महिनापछि फ्रान्सको राजधानी पेरिसमा भेला भएका १ सय ९५ देशका उच्चस्तरीय प्रतिनिधिहरूले खाद्य सुरक्षा विश्वको मुख्य प्राथमिकता रहेको र जलवायु परिवर्तनको असर घटाउँदै सन् २०३० सम्ममा शून्य भोक बनाउन प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । नेपाल टेलिकम आफ्नो सेवालाई विस्तार गर्ने क्रममा सोलुखुम्बुको ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालन गर्नुका

काठमाडौँ, ९ असोज । नेपाल टेलिकमले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग समन्वय गरी सरकारी र सामुदायिक विद्यालयका शिक्षक र

काठमाडौँ, २९ असार । नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका

काठमाडौँ, २२ असार । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ । ग्रामीण