जाजरकोट, २१ असोज । जाजरकोटको जुनिचाँदेमा यात्रुवाहक जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन ।
प्रहरीका अनुसार सदरमुकाम खलङ्गाबाट आज बिहान गएको यात्रुवाहक जीप दिउँसो जुनीचाँदे १ काप्रामा सडकबाट तल खोलामा खस्दा पाँच जनाको मृत्यु भएको र एक जना घाइते भएका हुन ।
जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ । घटनास्थलमा प्रहरी चौकी बडावन र इलाका प्रहरी कार्यालय पञ्चालाबाट प्रहरी गएको छ ।
प्रहरीले घटनाबारे थप खोजी गरिरहेको जनाएको छ । घटनाको विस्तृत विवरण आउने बाकि रहेको प्रहरीले जनाएको छ । जीपमा कति जना सवार थिए भन्ने एकिन हुन सकेको छैन ।