धादिङ, २० असोज । धादिङ नेत्रावती डबजोङ गाउँपालिका-५ स्थित बेतिनीमा मिनी ट्रक दुर्घटन हुदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने सवारी धनी सख्त घाइते भएका छन् ।
आज लपाङ्गफेदीबाट गिट्टी लिएर कोल्चेत जाँदै गरेको बा ५ ख ४७२८ नम्बरको ट्रक सडक भास्सिएर करिब ४ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । मृत्यु हुनेमा ट्रक चालक गंगाजमुना ३ का २७ वर्षीय बेगबहादु तामाङ र ट्रकमा सवार नेत्रावती डबजोङ ४ का ६६ वर्षीय दलबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा घाइते भएका दुई जनाको जिल्ला अस्पताल धादिङमा उपचारको क्रममा मृत्यु भएको हो । सवारी धनी नेत्रावती डबजोङ २ का ५८ वर्षीय रामबहादुर तामाङलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको छ ।