अब ट्राफिक प्रहरी महाशाखाको काम अनलाइनबाटै

काठमाडौँ, १९ असोज  । केही अघिसम्म काठमाडौं उपत्यकामा कुनै सवारी साधन अथवा त्यसका कागजात हराएमा नागरिकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफैँ उपस्थित भएर निवेदन दिन्थे । मानिसहरुको बढी भिड हुँदा लामो लाइनको झन्झट त हुन्थ्यो । यसका साथै गत वर्षबाट महामारीको रुपमा फैलिएको कोभिड(१९ सङ्क्रमणको जोखिम उत्तिकै थियो ।

अब भने त्यो झन्झटबाट नागरिक मुक्त भएका छन् । महाशाखाले घरमै बसेर सबै समस्याका निवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था गरेपछि सर्वसाधारणका लागि ठूलो राहत मिलेको छ । अब नागरिकले हराएका कागजात र सवारीसाधनसम्बन्धी निवेदन मोबाइल वा कम्प्युटरबाट एक क्लिकमै दिन सक्नेछन् ।

विगतदेखि नै प्रविधिमैत्री अभ्यासको थालनी गरेको महाशाखाले कोरोनाको सङ्क्रमण फैलिएपछि प्रविधिको उच्चतम प्रयोगतर्फ जोड दिएको पाइएको छ । कार्यालयमा भिड हुने र रोगको जोखिम बढेपछि त्यसको नियन्त्रणका साथै ट्राफिक व्यवस्थापन चुस्त बनाउन उपलब्ध स्रोत(साधनको उच्चतम प्रयोग गरी प्रविधितर्फ जोड दिन थालिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल बताउँछन् ।

महाशाखामा यही असोजमा हराएका कागजात र सवारी साधनबारे अनलाइनमार्फत निवेदन दिन सकिने गरी नयाँ सफ्वेयरको विकास गरिएको हो । अनलाइनमा मागिएको विवरण भरेर पठाएपछि उक्त विवरण सोझै ट्राफिक प्रहरीको नियन्त्रण कक्षमा पुग्‍नेछ । त्यही विवरणका आधारमा प्रहरीले दर्ता गरी तत्काल खोजी कार्य सुरु गर्ने महाशाखाअन्तर्गत कम्प्युटर शाखाका प्रहरी निरीक्षक सुरेशकुमार थापाले जानकारी दिए ।

उनका अनुसार अनलाइन प्रणालीको अनुगमन र रेखदेखमा कम्प्युटर एडमिन शाखाले काम गर्ने छ । त्यही शाखामार्फत गुनासोकर्तालाई सूचना सम्प्रेषण हुन्छ । फेला परेपछि अनलाइनबाटै सूचना पुग्‍ने गरी सफ्टवेयरको विकास गरिएको छ त्यही सूचनाका आधारमा सवारी वा कागजातधनीले आफ्नो सामग्री लैजान सक्नेछन् । यही असोज ५ गते हराएका सवारीचालक अनुमतिपत्र, सवारी दर्ता किताब र सवारी इजाजतपत्रको सिफारिसको निवेदन अनलाइनबाटै दिन सकिने व्यवस्थाको थालनी गरिएको र असोज १८ बाट भने हराएका सवारीको पनि अनलाइनबाटै निवेदन दिन सकिने गरी सफ्टवेयरको प्रयोग सुरु भएको छ । महाशाखाका अनुसार झन्डै १५ दिनको अवधिमा अनलाइनबाट एक हजार ५१२ वटा निवेदन प्राप्त भइसकेको छ ।

महाशाखाले प्रविधिलाई जोड दिँदै ट्राफिक व्यवस्थापन सम्बन्धिका अन्य विभिन्न गतिविधि अघि बढाएको थियो । महाशाखा कै समन्वयमा विगत ९ वर्षदेखि बिग्रिएर बसेको काठमाडौँ उपत्यकाको २४ स्थानका सञ्चालित प्रविधिमैत्री ट्राफिक बत्तीले सवारी आवागमनमा सहज पारेको छ । अन्य ११ स्थानका लागि काम भइरहेको महाशाखाले जनाएको छ । ‘ट्राफिक कम्युनिकेसन एप्स’को प्रयोग गरी सवारी साधन व्यवस्थापनलाई चुस्त बनाउने प्रयासमा महाशाखा छ । उक्त एप्समार्फत सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि आवश्यक निगरानी गर्ने गरिएको छ । लामो दूरीका यात्रुवाहक यातायत चलाउने चालक परिवर्तन भएरनभएको, दुई चालक भएरनभएको बारे आवश्यक जाँच गरी ४५६ सवारी साधनलाई कारबाहीको दायरामा ल्याइएको महाशाखाले जनाएको छ ।

यस्तै महाशाखाले ‘स्मार्ट कार्ड रिडर मेसिन’ को प्रयोग गरी सवारी चालक अनुमतिपत्रको पनि जाँच गरिरहेको छ । महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउन र ट्राफिक नियम उल्लङ्घन गरेबापतको कसुरमा कारबाहीका लागि खिचिएका कागजपत्रको अभिलेख व्यवस्थापनमा ‘ट्राफिक भाइलेन्स रेकर्ड सिस्टम’ गत फागुनबाटै प्रयोगमा ल्याइएको छ ।

महाशाखाले निकट भविष्यमा इन्टेलिजेन्स ट्राफिक नियन्त्रण कक्ष, भेइकल स्क्यानर, स्वचालित गति मापक यन्त्र, डिडिटल ड्राइभिङ परीक्षण केन्द्र, भेइकल ट्राकिङ प्रणाली, प्रविधिमैत्री तथ्याङ्‍क व्यवस्थापन केन्द्र, विद्युतीय टोकन प्रणाली, विद्युतीय उद्धार सामग्री र प्रविधियुक्त मिटर रिडिङ प्रणालीको प्रयोग गर्ने योजना अघि बढाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । निर्माता छविराज ओझाले अब नयाँ चलचित्र बनाउने तयारी गरेका छन् । आफैले निर्माण गरेको चलचित्र ‘कसले चोर्यो

काठमाडौँ, १४ कार्तिक । गायिका दिपा तामाङको ‘फेसबुकमा फोटो छ’ बोलको गीत रिलीज भएको छ । सार्वजनिक गीतमा गायिका तामाङ

काठमाडौँ, १२  कार्तिक । नायिका सुहाना थापाले यस बर्षको दशैं आफ्ना पिता सुनिलकुमार थापा र आमा झरना थापाको साथमा मनाएकी छिन्

मुम्बई, १२ कार्तिक । बलिउड लागुऔषध मुद्दामा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले अभिनेत्री दीपिका पदुकोणकी म्यानेजर करिश्माप्रकाश झालाई बयानका लागि