बुटवल, १८ असोज । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडीमाथि ढुङ्गा प्रहार भएको छ ।
आइतवार साँझ काठमाडौँबाट बुटवल जाँदै गरेको मुख्यमन्त्री पोखरेलको गाडीमाथि बुटवलको चौराहमा ढुंगा प्रहार भएको हो । काठमाडौँबाट भैरहवा विमानस्थल ओर्लेर गाडीमा आउँदै गर्दा बुटवलको राजमार्ग चौराहा नजिक सिद्धार्थ कटेज अगाडि मुख्यमन्त्री सवार गाडी र उहाँको स्कर्टिङमा रहेका दुई वटा गाडी माथि ढुंगा प्रहार भएको हो ।
ढुंगा प्रहारबाट मुख्यमन्त्रीका अगुवा र पछुवा गाडीमा समेत क्षति पुगेको जनाइएको छ । ढुंगा प्रहारबाट मुख्यमन्त्री सवार गाडी र स्कर्टिङमा रहेका २ वटा गाडीमा क्षति भएको छ । मुख्यमन्त्री सवार गाडीमा ढुंगा प्रहार भएपछि प्रहरीले केहि राउन्ड हवाई फायर समेत गरेको छ । अहिले घटनास्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
भैरहवाबाट बुटवल आउँदै गरेका मुख्यमन्त्रीलाई कांग्रेस कार्यकर्ताले कोटीहवा, मणिग्राम र शंकरनगर क्षेत्रमा कालो झण्डा प्रदर्शन गरेका थिए । प्रहरीले घटनामा संलग्न भएको आरोपमा कांग्रेस युवा नेता एवं प्रदेशसभा सदस्यका उम्मेदवार विष्णु पोखरेल, नेविसंघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेल, सञ्चारकर्मी कमला पाण्डेसहित ६ जनालाई पक्राउ गरेको छ ।