बाँके, १८ असोज । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको छ ।
एक छोरा र एक छोरीलाई जन्म दिएकी कञ्चनपुरको महेन्द्रनगर–१ निवासी २९ वर्षीया महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको हो ।
उनले कैलालीको धनगढीस्थित सेती अस्पतालमा अपरेसन नगरी जुम्ल्याहा बच्चा जन्माएकी थिइन् । उनी गर्भवती भएदेखि नै रक्तश्राव हुँदै आएको र सुत्केरी भएपछि पनि उच्च रक्तश्राव भएको थियो । त्यसपछि उनको पाठेघरको अपरेसनका साथै ८ पोका होल रगत र ४ पोका प्लेटलेट रगत दिइएको थियो ।
साथै कोरोना संक्रमणको आशंकामा ती महिलाको स्वाब परीक्षण गर्दा असोज १४ गते रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका लागि रिफर गरिएको थियो । यससँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।