कैलाली, १७ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा अब नियमित विमान चल्ने बताएका छन् ।
आज धनगढी विमान स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री भट्टराईले तत्काल पहाडका ३ जिल्लामा विमान पुग्ने र बाँकी जिल्लामा पनि विमान पुर्याउने योजना रहेको बताए । उनका अनुसार पहिलो चरणमा बैतडी, डोटी र बझाङमा विमान सुरु हुने र त्यसलगत्तै दार्चुला र अछाममा पनि सुरु गर्ने योजना रहेको छ ।
शनिवार मन्त्री भट्टराई सहित १६ जना यात्रु लिएर धनगढीबाट जहाज डोटी पुगेको छ । टोलीमा मन्त्री भट्टराईसहित संघीय सांसदहरू र प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीसमेत रहेका छन् ।
आजनै डोटी, बैतडी र बझाङमा समेत परीक्षण उडानको उदघाटन हुने मन्त्री भट्टराईले बताए । उनले भने, ‘परीक्षण उडान सफल भएपछि निजी विमान कम्पनीलाई पनि धनगढीलाई बेस बनाएर पहाडी जिल्लामा उडान सुरु गर्न आह्वान गरिने छ ।’