काठमाडौँ, १७ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।
शनिबार ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको एक नेताले जानकारी दिनुभएको छ । उहाँकाका अनुसार बैठक आइतबार ४ बजे बस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहालले बैठक सरेको जानकारी नेताहरुलाई गराउनुभएको छ ।
स्थायी कमिटी बैठकको प्रस्तावअनुसार मन्त्रिपरिषद् पुनगर्ठन र राजनीतिक नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष दाहालबीच छलफल चलिरहेका बेला सहमतिबिनै सरकारले महत्त्वपूर्ण राजनीतिक नियुक्ति गरेको भन्दै सचिवालय बैठक माग भएको थियो । अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको पछिल्ला नियुक्तिलाई लिएर बैठकमा असन्तुष्टि राख्ने तयारी गर्नुभएको निकट स्रोतले बताएको छ ।