काठमाडौँ, १३ असोज । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत दुईजना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका वडा नंं. १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको हो । नेपालगन्जका मृतक नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन् ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले एकजना संक्रमितको उपचारका क्रममा गएराति र एक जनाको बिहान ४ बजे मृत्यु भएको पुष्टि गरे । दुवैजनालाई प्लाज्मा थेरापी र रेम्डिसिभिरबाट उपचार भइरहेको थियो । दुवैजना भेन्टिलेटरमा थिए ।
त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
ती पुरुष नोबेल मेडिकल कलेज विराटनगरबाट रिफर भएका थिए । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी नोबेल मेडिकल कलेजमा भर्ना भएका थिए । कोरोना संक्रमणको शंका लागेर परीक्षण गर्दा उनमा असोज ५ गते रिपोर्ट पोजेटिभ आएको थियो ।