धनुषा, १२ असोज । सामूहिक बलात्कार घटनालाई आर्थिक लेनदेनमा मिलाउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भदौ १ मा धनुषाको धनुषाधाम नगरपालिका–२ धरमपुरस्थित सुकन यादवको धानखेतमा १२ बर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको थियो । किशारीलाई चारजना केटाले बलात्कार गरे । बलात्कारमा संलग्न धुनषाधाम–२ धरमपुरका १९ वर्षीय विजयकुमार यादव र २० वर्षीय प्रतापसिंह अदालतको आदेशले पुर्पक्षका लागी सिन्धुली कारागारमा छन् । तर, बलात्कारमा संलग्न फरार आरोपी २६ वर्षीय श्यामसुन्दर यादव उर्फ बन्ठाका बावु सत्यनारायण यादवले पीडित परिवारलाई ‘१२ लाख’ मा मिलापत्र गर्न दवाव दिए ।
गाउँमा छलफल गरेर ‘बलात्कार मिलापत्र’ गरेको प्रचार गरेपछि आरोपीका बुवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको धुनषाधाम नगरपालिका–२ का ५५ वर्षीय सत्यनारायण यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
धनुषाधाम नगरपालिका–२ धरमपुरका ५५ वर्षीय यादवलाई प्रहरीले शनिवार पक्रेर ‘शान्ति विरुद्धको कसुर’ मा मुद्धा दर्ता गरेको छ । नौसयस्थित दिदीको घरबाट दुईजना गाउँले दाईसँग आफ्ने घर फर्कंदै गरेको अवस्थामा श्यामसुन्दर यादव उर्फ बन्ठाको समूहले दाईहरुलाई कुटेर किशोरीलाई सामूहिक रुपमा बलात्कार गरेका थिए ।