लघु कथा ‘अस्पताल’

कसैलाई जीवनमा त्यहाँ कहिले पनि जान नपरोस । त्यो कहाँ हो ? भन्यो भने तुरन्तै जवाफ आउँछ अस्पताल । राज्यले यसैलाई सदैव स्तरिय र ब्यवस्थित बनाउन पहिलो प्राथमिकता दिन्छ । जहा कसैले जानै नपरोस भनेर कामना गरेको हुन्छ भने राज्यको सम्पतिको दुरुपयोग किन ? म रोशन, यसरी नै स्वच्ने गर्थे । म कहिले पनि कुनै पनि अस्पताल गएको पनि थिइन । कसैलाई भेट्न पनि गईन । यसलाई ठूलो किन बनाउनु परेको ? यस शब्दले मनमा प्रश्न उठिरहन्थे । कोही आफन्तलाई केही समस्या भईहाले नर्सिङ्गहोममा जँचाएको थाहाछ मलाई उपचार गर्न त दिल्ली वा थाइल्यान्ड जानुपर्छ भन्ने बुझेको छु मैले । आफ्नै अस्पतालको त कहिलेपनि प्रयोग गर्न नपरेकोले यो किन चाहिएको हो हामीलाई, मन परिरहेको थिएन ।

काठमाडौँको सभ्रन्त परिवारमा जन्मिएको म जान्ने भएदेखिनै अभाव के हो मलाई केही थाहा भएन । विद्यालय जान आउन नै गाडी, मनलागेको खाना, मनपरेको कपडा, मनपरेको ठाउँको घुमफिर, खाना बजाना मेरो जीवन रमाइलो गरिनै बितेको थियो । जावानीको जोस र बाबुको पद र पावरको आडमा सधै मनले चाहेको बस्तु उपयोग गरेको, साथीहरुको चाहना पुरा गरिदिन समेत यो तागत प्रयोग गरेको आदतमा हुर्किएको म । आफ्नो चाहनामा बाधा गर्ने कसैको हात खुट्टा भाँच्न मलाई कठिन थिएन मात्र हैन आदत बनिसकेको थियो । आफ्नो चाहना भएपछि कतिको चाहाना नभएपनि मलाई मानसिक र शारिरिक सन्तुष्ठी लिन रोकेको मलाई मन पर्दैन थियो । चहना पुरा नगरी छोड्दा पनि छोडिएन । कतिका दाँत खसालिए, कतिका हात खुट्टा भाँचिए, कतिका चित्कार र रोदनका बिच अस्मिता लुटियो । यो मनले यसलाई कुनै गल्ति हो हैन मेरो कर्तब्य ठानेको थियो । तर पनि अस्पताल पछिको म आज त्यसलाई संझन चाहन्न ।

साउने झरी बादल तथा गर्मीले मेरो दिनचर्यामा बाधा दिईरहेको थियो । अकस्मात मलाई टाउको दुख्न थाल्यो साँझको समयछ । कहिलेकहीँ राति बढि भएर बिहान टाउको दुखेको त मलाई अनुभव भएकै विषयहो तर आज फरक छ । मेरो अनन्य मित्रलाई कोरोना पोजेटिभ भएकोले मलाई बोलाए र थ्रोट स्वाब दिएर आएको थिए आज । आइसोलेसनमा राख्ने भनेर राख्न खोजेका थिए, म घरमै सुरक्षित बस्छु भनेर आएको थिए । मुला भाईरसले केही गर्छ मलाई भन्ने लागिरहेको थिएन तर पनि मनमा एकखाले त्रास त थियो । खाना खान मन लागेन त्यतिकै सुते । एकनिद्रा झप्प निदाएछु र व्यूँझदा ज्वरो आएको रहेछ । आमलाई उठाएँ । आमाले थर्मोमिटर ल्याएर ज्वरो नाप्न दिनुभयो । ज्वारो १०२ डिग्री पुगेको रहेछ । सिटामोल दिनुभयो खाएर निदाउने प्रयास गरे । निद्रा लाग्दै लागेन । बिहान उठेर हातमुख धोएर बस्दैसाथ जिउ कामेको अनुभब भयो ज्वरो नापेको त १०३ डिग्री पुगेको रहेछ । अब के गर्ने समस्या भयो । कुनै पनि निजी अस्पताल ल्किनिक, नर्सिङ्गहोम केही खुलेको थिएन । सरकारी अस्पताल पनि तोकेको बाहेक अरुले सबै बिरामी हेरिरहेका थिएनन् । हामी तोकिएको एउटा सरकारी अस्पतालमा गयौ आमा र म । इमर्जेन्सीबाट बिरामी हेर्ने रहेछन् । डाक्टरहरुले अनेकौ कुरा सोधे, जाँचे ओल्टाई पल्टाई मेरो सरिर छामछुम गरे ज्वरो नापेको र प्रेसर नापेको बाहेक अरु गरेको मलाई मनपरीरहेको थिएन । थ्रोट स्वाब जाँचगर्ने कुरागरे मैले हिजै जाँच्न दिएको बताएँ । छातिको एक्सरे गराए, रगत निकाले र भने भर्ना गर्नुपर्छ ।

यी सारा गतिबिधी गरिरहदा मलाई चित्त बुझिरहेको थिएन तर केले हो कुन्नी म लाचार र विवश भएको थिएँ आज । तुरैतै कागज बनाए, एउटा सलाइन झुन्ड्याएर बेडमा पठाइदिए । म लाचार भएर भनेको ठाउँतिर गए । नर्सले कागज लिइन र मेरी आमालाई तपाई बाहिरनै बस्नुस् भनेर पठाईदिए । अब म एक्लो भएको थिए । यिनले के जानेका होलान र के उपचार गर्ने होलान भन्ने सोच दिमागमा बोकेको म यहाँका हरेक गतिबिधीबाट क्रोधित भइरहेको थिए । जीवनमा आफुले भने अनुसार नहुँदा कतिको दाँत झारियो कतिका हात भाँचियो । लाग्थो मलाई देखेर समाज काम्छ । तर आज म किन यति निरिह्य बनेको रु आँखाले देख्नै नसकिने एउटा तुच्छ किटाणुले मलाई ढालिदियो रु मनलाई प्रश्न गरिरहेको थिएँ । बाबा ड्युटीमा ब्यस्त हुनुहुन्थ्यो । आमालाई म संग बस्न दिएनन् । अब म कसरी बसौला ? के गरौला ? के होला ? गाडि मगाएर उपचारको निमित्त दिल्ली पो जाउकी रु दिल्लीबाट त प्लेन चलेको होला । त्यतैबाट बैंकक पो जाउकी आदी स्वच्दै थिए यत्तिकैमा एकजना नर्स आएर बोलाइन, रोसन जी कस्तोछ ? उत्तानो परेर बेडान पल्टीएको मेरो निदारमा पन्जा लगाएकै हातले स्पर्स गरिन र भनिन ज्वरो हेरौ है । भर्खर हेरेको मैले जबाफ दिए । ठिक छ फेरी हेरौ न ।

मलाई तिनको मिठासपूर्ण बोलीको पहिलो स्पर्सलेनै ध्यान आकर्षण गर्यो । ज्वरो हेरुन्जेल मेरो बारेमा र समस्याको बारेमा सोधी रहिन । अबको दिनचर्या तथा औषधीको बारेमा बताईन र औषधी खान दिएर ढुक्कले हौसलाका काथ बस्नुस चाँडै ठिक हुन्छ ढाढस दिदै भनिन् । आतिन आवश्यक नै छैन सान्त्वना दिईन र आफ्नो स्टेसनमा गएर कागजहरु पल्टाउन लेख्न थालिन । भरखर सम्म रिसले अनेकौ कुरा सोचिरहेको म उठेर बेडमा अढेस लागेर बसे र यति बिठो बचन र ब्यवहार भएकी नर्सको अनुहार देख्न पाइन्छकी ? भनेर नर्सिंग स्टेसनमा हेरिरहेर बस्छु । उनको फुर्सत नै छैन कहिले कसलाई हेर्न पुग्छिन कहिले कसलाई ।

बेलुकी खाना नखाएकोले मलाई चौपट्टै भोक लागेकोछ । आमा बाहिर साथमा फोन र पैसा केही छैन । यसैलाई निहु बनाएर नर्सलाई बोलाउने विचार गरे । बिहानको ७ बजेको हुँदोहो । मैले हातले इसारा गरेर बोलाउने प्रयास गरे तर देखेपो, अन्यत्रनै ध्यान छ । संगैको बेडको अर्को बिरामी साथिले बुझ्नुभएछ सिष्टर भनेर बोलाउनुभयो र मलाई देखाई दिनुभयो । उनि तुरुतै आइन र सोधिन तपाईलाई केही समस्या रु तिनको मायालु बोलीबाट म पानीपानी भैसकेको थिए र बसिभुत हुँदै आफ्नो समस्या बताईदिए । के खानुहुन्छ उनले सोधिन रु मैले भने अरु के पाईएलार बिस्कुट खानुपर्ला । ओके लामो स्वरमा बोलिन र आमाको फोन नंम्वर लेखेर तुरैन्तै फोन गरेर बताईन वा बोलाईन मैले बुझ्न सकिन । एकछिनमा आमा बिस्कुटहरु, मोवाईल र पैसा लिएर आउनुभयो र दिएर जानुभयो । मलाई नर्ससँग बाँडेर खान मन भयो र मैले सिस्टर भनेर बोलाए र एउटा बिस्कुट खान अनुरोध गरे । धन्यबाद । तपाई लिनुस्न हामीले त भरखरै खाजा खाएको म तातोपानी पठाइ दिउ ? सोधिन । मैले हुन्छ भने । केही बेरमै एक गिलास पानी आयो । म तातोपानीसँग बिस्कुट खाँदै थिए अको नर्स प्रबेश गर्नुभयो । स्टेसनमा मलाई देखाउँदै केही कुरा गरेको मैले देख्दै थिए । उनी म नेर आईन र भनिन् खाना आउछ खानुहोला । आराम गरेर बस्नुस् है केही भए दिदि हुनुहुन्छ । म नाजबाफ भए । हुन्छ भने उनि निस्कीइन । मन मात्र हैन खाँदैगरेको गुलियो बिस्कुट पनि अमिलो लाग्यो ।

म बेडमा टोलाई रहेको थिए । खाना आयो, कागज हेरेर खाना दिदारहेछन् । मलाईपनि दिए, भोक थियो मिठैलाग्यो खाएर बसेँ । केहीबेरमा डाक्टरको हुलै आयो सोध्ने र छलफल गरेर गए । एक्सरे र रगतको रिपोर्ट आई सकेको रहेछ त्योपनि छलफल गरेर भने ठिक छ, आत्तिनुपर्ने केही छैन । डाक्टरहरु आफु आफु छलफल गरे मैले केही बुझे केही बताए पनि । अब मलाई बिश्वास जाग्न थाल्यो । राति ननिदाएको भएर होला केही बेर निदाए । केहीबेर टोलाएर सोच्न थाले । मानसपटलमा अनेकौ स्वचहरु आए । बिगतका स्मृतिहरुले सताए । मैले गरेका राम्रा नराम्रा कामहरुले मलाई पछ्याए । साथी संगत, सम्पति सबै सम्झिए, एउटा सामान्य किटाणुको आक्रमणले मानिसलाई कस्तो बनाउदो रहेछ भन्ने स्वचे । यस्तो बेलाका साथी भनेको को हुँदोरहेछ । किन हिजोको संगत, सम्पति र शक्ति काम लागेन जस्ता अनेकौ प्रश्नहरु मनमा आए । दिनमा ज्वरो बड्दै गयो । नापेर औषधी दिनुभयो खाएर म स्वचमानै मस्तभए । फोन चलाउदै थिए । मेरो नजर हिजोनै आएको म्यासेजमा पर्नगयो । मेरो कोरोना टेस्ट पोजेटिभ आएको रहेछ । म अतालिएँ । सिस्टरलाई बोलाएर रिपोर्टको बारेमा सुनाए । थाहा भै सक्यो । डाक्टरले पनि थाहा पाईसक्नुभयो । चिन्ता नगर्नुस् केही हुँदैन । म अचम्मित भए । हाम्रो देशमा न कुनै विधी छ । न कुनै थिति छ । न कोही विज्ञनैछ भन्ने मानसिकता थियो म संग । याहाँ त सबैकुरा रहेछ । मेरो रिपोर्ट मलाई थाहानहुँदै अस्पताललाई थाहाछ । मलाई जाँच्ने डाक्टरलाई थाहाछ । मलाई केयर गर्ने नर्सलाई थाहाछ । विश्वलाई यति आतंकित बनाएको रोग लागेको प्रमाणित हुँदापनि केही भएको छैन झै सामान्य ब्यवहार, नआतिनुस केही हुँदैन भन्ने सान्तोनापूर्ण र मायालु ब्यवहार । आज हाम्रा स्वास्थ्यकर्मीको ब्यवहार देखेर म चकित भएकोछु सायद मैले थाहा पाएको थिइन ।

नर्सहरुको पालो परिवर्तन भइरहने रहेछ । बेलुकी आठ बजे बिहान हेर्ने नर्सको पालो आएछ । सरासर भित्र छिरेर स्टेसनमा जानुभयो । साथीसँग केहीबेर छलफ गरेर साथीलाई बिदा गरेपछि सोझै म भएठाउमा आएर सोध्नुभयो रोसन जी कस्तोछ ? ठिकैछ जवाफ दिए । म भित्रैबाट खुसी भएको होकी ? सम्मेहित भएको हो की ? उत्तेजित भएको हो की ? तिनी प्रति असाध्यै आकर्षित भएको छु । त्यसपछि अरु बिरामीहरुसँग कुरागर्दै स्टेसनमा गएर बस्नुभयो । आज अर्को कुनाको बेडको बिरामीलाई केही गाह्रो भयो । डाक्टर र नर्स सबै त्यतैधेरै केन्द्रित हुनुभयो । केहीबेरमा मपनि निदाएछु । बिहान औषधी खुवाउन आउनुभएको थियो । ममतापूर्ण स्पर्ससहित औषधी दिएर जानुभयो म जवाफहिन भएर आज्ञाकारी बच्चाझै औपाधी खान्छु र सुझावहरुको लागि सहमतिको टाउको हल्लाउछु । जानेबेलामा साथीलाई मप्रति मायालु नजरका साथ ध्यानदिन विषेश आग्रह गरेकोझै भानहुन्छ मलाई ।

आज खास ज्वरो छैन खानपिन पछि बेडमा पल्टिएर निदाउने प्रयास गर्छु । आँखा चिम्लन्छु । तिनलाइनै देख्छु । अनुहार त देखेको छैन तर अनुमान गर्छु । पहिलो भेटबाट सम्झन्छु । म किन आकर्षित भए । रोशन जी । यस शब्दले त मलाई दिनमा सैयौं पटक बोलाउथे साथीहरुले तर उनले बोलाउँदा मलाई किन खास लागेको । कस्तोछ तपाइलाई ? यसरी अरुले पनि त सोधेकै हो अनेकौबार । यो मलाई किन खास लागिरहेको छ ? मलाई स्पर्स गर्ने कैयौ सुन्दर यूवतीहरु नभएको पनि हैन तर मेरो हृदयमा यो घटना कसरी अमेट छाप बनेर रहेको ? मानिसलाई जीवनमा के चाँहिदो रहेछ ? सम्पति पनि त सबैचिज हैन रहेछ । आज एउटा तुच्छ भाइरसले लडाएको छ, गलाएको छ । सम्पति र शक्तिले के गर्दो रहेछ र । सबै संकटमा साथीभाई आफन्तले पनि त केही गर्न सक्दा रहेनछन् । तिनले मलाई के गरिन्, सामान्य सम्मान र माँया । एउटा संकटमा रहेको बेला सामान्य सम्मान र सामान्य माँया सहितको सेवा जसले मलाई संकटबाट निकाल्छ । बस मानिसलाई चाहिएको यत्ति नै हो ? उनले मलाई यति दिँदा आफुले के गुमाईन ? के खर्च गरिन ? बिना खर्च मानिसलाई यति धेरै गुन लगाउन सकिन्छ ? म सोचेको सोचेकै भए ।

सेवादिनु सायद उनको पेसाको कर्तब्यथियो । कर्तब्यमा थोरै माया र थोरै सम्मान थप्दा मानिसलाई जीवनभर तिर्नै नसकिने ऋणी बनाउन सकिदो रहेछ । घायल मानिसको मनमा मलम लगाउन सकिदो रहेछ । के सम्पति जीवन चलाउने साधन मात्र हो ? के पद प्रतिष्ठा र शक्ति समाज प्रतिको दाईत्वको भारी मात्र हो ? बिना खर्चको माया र सम्माने जीवन यति आनन्दमय हुने हो त ? मेरो मनमा प्रश्नका तातिहरु जन्मन्छन । त्यसो हो भने यस्तै जीवन संगिनी हुने हो भने मेरो भविष्य कस्तो होला ? हाम्रो जीवन कस्तो होला ? यिनी मेरो अनुमानमा अविवाहित हुनुपर्दछ । कतै यीनले म र मेरो परिवारलाई जानेर यस्तो ब्यवहार गरेकीत हैनन् ? शंका गरेर हेरे मेरो मनले मानेन् । अरुसँग पनि त त्यस्तै ब्यवहार देखे मैले मनलाई बुझाए । पद प्रतिष्ठाको दुरुपयोग, सम्पतिको संकलननै प्रमुख अभिष्ठा बनेको अहिलेको समाजमा म लाचार भएर आएको बेला क्रुर ब्यवहार गरेको भएपनि हुने अवस्थामा यस्तो माया र सम्मान बर्षाउने यी बिदुषी जन्मजात ममतामयी, निर्मल सुन्दरी हुन । म जीवनसंगिनीको प्रसस्त राख्ने निष्कर्षमा पुग्छु ।

सदाझै उनि आउने बेला भयो तर उनी आइनन् । केहीबेर पर्खिए तर पनि आईनन् । आजको पालोमा रहेकी नर्सलाई नजिक आएको बेलामा सोधे उनको नाम र पालो । आज र भोली छुट्टी रहेछ । निर्मला रहेछ उनको नाम । जस्तो नाम यस्तै निर्मल ब्यवहार । मलाई पिडा भएको झै भयो । सम्मालिएर प्रतिक्षा गर्ने प्रण गरे । पर्सी पनि तिनी आईनन् । पुन अर्को नर्सलाई सोधे आज विदालिएको रहेछ । मलाई सम्हालिन नै गाह्रो भएझै लाग्यो । तर पनि एउटै दिन हो भनेर चित्त बुझाए । अर्कोदिन सदाझै उनि आईन । समय खेर नफालिकन उनिसँग कुरा गर्ने र प्रस्ताव गर्ने उद्देश्यले म उठेर स्टेसन तिर गएँ । पुग्ने बेलामा अर्को साथीले उनलाई सोधेको सुने, हिजो किन विदा लिएको ? उनको जवाफ सुने के गर्नु बाबु विरामी छ । श्रीमानलाई मात्र गाह्रो हुन्छ । म खत्त्रक्कै भएँ । केही नबोली फर्किए र बेडमा बसे । तर जीवनमा ठूलोकुरा त सिकेँनी । यस रोगलाई जितेर गएपछि दु:खी असाह्यहरुको सेवा मा प्राथमिकता दिन्छु । निशुल्क बाँड्न सकिने माया र सम्मान यीनलाई म जीवनभर ब्यवहारमा लागु गर्ने प्रयत्न गर्नेछु ।

(कथामा अबस्था, पात्र र स्वास्थ्यकर्मीको ब्यबहार अपेक्षित हो । प्रेममय बनाउन तिमि शब्दको प्रयोग गरिएकोछ)

काशी रिमाल

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । कर्णाली राजमार्ग अन्तरगत सुर्खेत -जुम्ला सडक खण्डको खल्लागाडमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कालिकोटबाट

भक्तपुर, १३ असोज । भक्तपुरमा डलर साट्ने भन्दै पाँच लाख लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय

काठमाडौँ, १३ असोज । थप १५ सय १३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७६ हजार २ सय ५८ जना

काठमाडौँ, १३ असोज । ब्रोइलर कुखुराको चल्लालाई रंग लगाएर लोकल भनेर बिक्री गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी