चन्द्रशमशेरद्वारा स्थापित भक्तपुर अस्पतालमा ११६ वर्षपछि बल्ल आईसियू सेवा

भक्तपुर, १९ भदौ । रमेश गिरी । नेपालको पहिलो र जेठो अस्पताल वीर अस्पताल हो । बि.सं. १९४७ साउनमा तत्कालिन राणा प्रधानमन्त्री वीर शमशेरले स्थापना गरेकाले यो अस्पतालको नाम वीर अस्पताल रहन गएको हो । त्यसको ठिक १४ वर्षपछि तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शमशेरले भक्तपुरमा बि.सं. १९६१ असार १७ गते १५ शय्याको ‘चन्द्रलोक डिस्पेन्सरी’ को नामबाट स्थापना गरेको अस्पताल हो ‘भक्तपुर अस्पताल ।’ नेपालको जेठो वीर अस्पताल पछिको दोश्रो अस्पताल भक्तपुर अस्पताल हो । देशकै दोश्रो जेठो अस्पताल भएपनि हरेक सरकारबाट उपेक्षित बन्दै आएको भक्तपुर अस्पतालमा ११६ वर्षपछि बल्ल सुरु हुने भयो, सघन उपचार (आईसियू) कक्ष ।

चन्द्र शमसेरले यो जिल्लाका साथै काभ्रेको बासिन्दालाई पनि स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले स्थापना गराएको यो अस्पताल २०२८ मा ५० शय्याको जिल्लास्तरीय अस्पतालको रुपमा सेवा विस्तार गरेको अस्पताल व्यबस्थापन समितिका अध्यक्ष मिलन सुवाल बताउनुहुन्छ । २०३० मा बनेको भवनमा हाल सञ्चालन भइरहेको अस्पतालमा २०५८ जेठमा अमेरिकी सैनिक सहयोगमा आकस्मिक कक्षको निर्माण भयो भने २०६१ मा भदौमा २५ शय्याको प्रशुति गृह थप गरी ७५ शय्यामा विस्तार निर्माण गरेको उहाँले जानकारी दिनुभयो ।

भक्तपुर अस्पतालको जग्गा भित्र अहिले तीन वटा अस्पताल सञ्चालनमा छन् । भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र छन् । ‘चन्द्रलोक डिस्पेन्सरी’ को ऐतिहासिक भवनबाटै सुरु भएको भक्तपुृर क्यान्सर अस्पताल अहिले पनि क्यान्सरले भोगचलन गर्दै आएको छ । सरकारले भक्तपुर अस्पतालको लागि १०० शय्यामा बिस्तार गर्ने भन्दै बनाएको नयाँ अन्तरंग भवनमा राष्ट्रिय प्रत्यारोपण केन्द सञ्चालनमा छ । अहिले यहाँका तीन वटै अस्पताललाई भवन निकै अभाव छ ।

अस्पताल कै जग्गामा नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाको भवन छभने अस्पतालको कम्पाउण्ड भित्रको जग्गामा भक्तपुर नगरपालिकाले आफ्नो जग्गा भन्दै निजी रुपमा पर्यटकीय शौचालय बनाएको छ । अलिकति खाली भएको जग्गामा अहिले कोभिड–१९ का विरामी र आईसियू वार्ड निर्माण गरेको छ ।

यसअघि राजनीतिकरण, भ्रष्टाचारको जालोमा बेरिदै आएको आरोप लागेको भक्तपुर अस्पतालमा देशमा कोरोना सङ्क्रमण बढेसंगै बल्ल आईसियू कक्ष सञ्चालनमा आउने भएको छ । अस्पताल विकास समितिका तत्कालिन अध्यक्ष नवराज गेलालले आईसियू सञ्चालन गर्न ल्याएका भेण्टिलेटर सहितको सामाग्री थन्किएको ५ वर्षपछि बल्ल प्रयोगमा आएको हो ।

भक्तपुरमा अस्पतालमा यसअघिका मेडिकल सुपरिटेण्डेन्ट डा। सुधा देवकोटालाई यहाँका सांसददेखि समितिका अध्यक्षसमेतले पटक पटक आईसियू सञ्चालन गर्न आग्रह गर्दा अटेर गरी थन्क्याएर राखेको आईसियूका सामान अहिले प्रयोगमा आएका हुन् ।

भक्तपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेन्टमा सरुवा भई आउनु भएकी डा. सुमित्रा गौतमले वर्षौदेखि प्रयोगमा नआएका आईसियूका भेण्टिलेटर सहितका सामानहरुको प्रयोग गर्दै एकसाता भित्र आईसियू सञ्चालनमा ल्याउने गरी तयारी पुरा गरेपछि देश कै दोश्रो जेठो अस्पतालले स्थापनाको ११६ वर्षपछि आईसियू सेवा पाउने भएको हो ।

पूर्वमन्त्री एवं प्रतिनिधीसभाका सांसद महेश बस्नेतले यसअघि नै भक्तपुर अस्पतालमा बिशेषज्ञ सेवादेखि आईसियू सञ्चालन गर्न पटक पटक भन्दा पनि चासो नदिएको अबस्थमा अहिलेको स्वास्थ्य संकटको बेलामा भएपनि आईसियू सञ्चालनमा आउनु खुसीको कुरा भएको बताउनुभयो ।

भक्तपुर अस्पताललाई यहाँका विरामी मात्रै नभई काभ्रे पलाञ्चोक, रामेछाप, सिन्धुपाल्चोकदेखि पूर्वका जिल्लाका अधिकांश विरामीको हव अस्पतालको रुपमा विकास गर्न आफूले पहल गरिरहेको बताउदै उहाँले पूर्वका धेरै जिल्लासंगै वागमति प्रदेशका जिल्लाका मुख्य अस्पतालको रुपमा विकास गर्दै यहाँको नागरिकलाई सहज र सुलभ उपचार दिने गरी विकास गर्नु आवश्यक रहेको बताउनुभयो ।

सांसद बस्नेतले भन्नुभयो, “भक्तपुर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पताललाई एकै ठाउँमा ल्याएर भक्तपुर स्वास्थ्य बिज्ञान प्रतिष्ठान बनाउन यसअघिदेखिका सरकार र स्वास्थ्य मन्त्रालयसंग मैले पहल गरेको छु, प्रत्यारोपण केन्द्रका लागि ठाउँ अभाव भएकाले अस्पताल अन्त बनाउन जग्गा लिन म लागिरहेको छु, यहाँका अस्पताललाई नयाँ स्वरुपमा लगेर सबै उपचार यहीँ हुनेगरी लागिरहेको छु ।”

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले भक्तपुर अस्पताललाई प्रदेश अस्पताल नभई केन्द्रीय अस्पतालको रुपमा सरकारले विकास गर्नुपर्ने औल्याउनुभयो । उहाँले भन्नुभयो, “भक्तपुर अस्पतालको म अध्यक्ष हुँदा २०७२ सालमा तत्कालिन स्वास्थ्यमन्त्री खगराज बरालसंग समन्वय गरेर रु. १ करोड ५० लाखको बजेटमा आईसियू स्थापना गर्न सामान ल्याए तर कमिसनमा लागेका कर्मचारीले आईसियू चलाउन चासो दिएनन्, मैले आईसियू चलाउन चलाउन ठाउँ तयार पारे, आइसियूका लागि पाँच शैयाको बेड, तीन भेण्टिलेटर, अपाङ्ग मैत्री भर्याङ्ग र अन्य ओपिडी सेवा थप गराए, डा. सुधा देवकोटाले आइसियू चलाउनै चाहनु भएन, तर अहिले भक्तपुर अस्पतालको स्वरुप नै फेरियो । चाहे गर्न सकिन्छ भन्ने नमूना अहिल बन्यो ।”

सरकारले कोरोना हव अस्पतालको रुपमा तोकेपछि भक्तपुर अस्पतालले पाँच वटा भेन्टिलेटरसहित ६ शय्याको आईसियू र कोरोना सङ्क्रमित राख्ने १५ शय्याको आइसोलेसन र १० शय्याको कोरोनाका सामान्य विरामी राख्ने आइसोलेसन तयार गरेकोे मेसु डा। गौतमले बताउनुभयो ।

यसका लागि अस्पतालले माग गरेको नयाँ जनशक्ति केही दिनमा पदपूर्ति गर्ने र तत्काललाई राष्ट्रिय प्रत्यारोपण केन्द्र र क्यान्सर अस्पतालसमेतको संयुक्त समन्वयमा सेवा सञ्चालनमा ल्याउने गरी जनशक्तिको व्यबस्था गरिएको छ । डा। गौतमले भन्नुभयो–“स्वास्थ्य आपतकालिन अबस्थामा केन्द्र र प्रदेश सरकारको मात्रै मुख ताकेर हुदैन भनेर म, प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. प्रेम ज्ञवाली र क्यान्सर अस्पतालका निर्देशक डा। ऋषिकेश नारायण श्रेष्ठको छलफलबाट टिम बनाएर काम गर्नेगरी आईसियू र आइसोलेसन सञ्चालनमा ल्याउने निर्णय गरेका हौ ।” वागमति प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले जनशक्तिको व्यबस्थापन गर्न निर्देशन दिदै आईसियूको लागि थप एक शय्या र दुईवटा भेण्टिलेटर प्रदेशबाट पठाईीदएको उहाँले बताउनुभयो ।

मेसु डा. गौतमले भन्नुभयो, “भक्तपुर अस्पतालको आईसियू, आइसोलेसन, खरिपाटीको आइसोलेसनमा मानव अंगका प्रमुखको नेतृत्वमा जनशक्ति परिचालन गरिएको छ । हाल खरिपाटीस्थित आइसोलेसनमा १२ जना, भक्तपुर अस्पतालमा ६ जना जनशक्ति परिचालन छन् । यस्तो संकटको बेलामा यहाँका तीन अस्पतालले एकैसाथ हातेमालो गर्दै सेवा सञ्चालनमा लागेका छौ । यसले पक्कै राम्रो परिणाम दिन्छ ।”

अस्पताल आएका कुनैपनि विरामी उपचार नपाई फर्किनु नपरोस भनेर अस्पतालले २४ सै घण्टा आकस्मिक सेवालाई भने सूचारु गरिरहेको छ । भक्तपुर अस्पतालमा कोरोना सङ्क्रमित विरामीको उपचार गर्ने भएकाले बहिरङ्ग (ओपिडी) सेवा लिन यहाँ आउने विरामीलाई प्रत्यारोपण केन्द्रबाट सेवा दिने, आकस्मिक सेवा २४ सै घण्टा सञ्चालन गर्ने र प्रसुति वार्ड पनि बन्द नगर्ने नीति लिएको उहाँले बताउनुभयो ।

मेसु डा. गौतमले भन्नुभयो, “कोभिड र ननकोभिडका विरामी एउटै अस्पतालमा उपचार गर्दा जोखिम बढ्न सक्छ, त्यसैले भक्तपुर अस्पताललाई कोभिड मात्रै उपचार गर्ने कि भनेर छलफल चलाएका छौ, आवश्यक पर्दा यहाँका ७५ शय्यासमेतको प्रयोग गरी १०० शय्याको कोभिड अस्पताल बनाउन तयार छौ ।”

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. प्रेम ज्ञवालीको नेतृत्वमा जिल्ला विपद व्यबस्थापन समितिले कोरोनाका विरामी व्यबस्थापन गर्न गठन गरेको समितिको संयोजक तोकेर सङ्क्रमितको उपचारको व्यबस्था गरेको छ । डा. ज्ञवालीका अनुसार भक्तपुरका विरामी अन्त जान नपरोस भनेर योजना बनाएको बताउदै तीनवटै अस्पताल मिलेर आईसियू र अन्य सेवा सञ्चालनका लागि प्रत्यारोपण केन्द्रले जनशक्तिको व्यबस्था गरेको बताउनुभयो ।

भक्तपुर अस्पतालमा आएको शल्यक्रिया अब प्रत्यारोपण केन्द्रमा गरिने, खरिपाटी र भक्तपुरको आइसोलेसनका स्वास्थ्य जनशक्ति परिचालनको काम भईरहेको बताउनुभयो । यहाको तीनवटै अस्पतालको समन्वयमा काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुरमा आइसोलेसन, क्वारेन्टाइन थप गर्ने कार्य भएको जानकारी दिदै दुवकोटस्थित केएमसि अस्पतालमा ५० शय्याको कोभिड हव अस्पताल बनाईने भएको बताउनुभयो । यसका लागि सरकारले तत्काल सामाग्री सहितको व्यबस्थापन गर्ने कार्य गरेको जानकारी दिदै सानोठिमीस्थित टिआइटिआई, यूसेप र बोडेको कृषि विकास बैंक तालिम केन्द्रको होस्टेल गरी २०० शय्याको एकिकृत क्वारेन्टाइन एवं आइसोलेसन तयार पारेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । भारतबाट काम गरेर फर्किएका दश जनालाई शनिबार कोरोना पुष्टि भयो । कोरोना पुष्टि भएका दशमध्ये आठ

नवलपुर, ५ बैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

काठमाडौँ, ५ बैशाख । हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, ४ बैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरेको छ । निगमले शनिबार राती १२ बजेबाट

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021