उपत्यकामा भदौ १० सम्म निषेधाज्ञा : के के गर्न पाईने/नपाईने ?(सूचीसहित)

काठमाडौँ, ३ भदौ । संक्रमण भयावह हुने देखिएपछि उपत्यकाका तीनै जिल्लामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले दैनिक उपभोग्य वस्तुको ढुवानी/विक्री, स्वास्थ्य सेवा, एम्बुलेन्स, मृत्युसंस्कार, सुरक्षा निकायलगायत अत्यावश्यकबाहेकका सबै क्षेत्र एक साता बन्द गर्ने निर्णय मंगलबार गरेको हो ।

निषेधाज्ञा अवधिभर औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु/सेवा खरिदको काममा बाहेक कोही पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैनन् । अत्यावश्यक सेवा दिनेबाहेक सबै व्यापार/व्यवसाय, निजी तथा सार्वजनिक र सरकारी कार्यालय सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयले भने न्यूनतम कर्मचारी संख्या निर्धारण गरी फोटोसहितको परिचयपत्रका आधारमा बिहान ९ बजेदेखि १०ः३० भित्र कार्यालय पुग्ने र दिउँसो ३ बजेदेखि ५ः३० भित्र फिर्ता भइसक्नुपर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

पूर्वअनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय वस्तु तथा सेवाअन्तर्गत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने–आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्नेबाहेक सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।

यसैगरी कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन, मानिस भेला हुन, भीडभाड, सभा/जुलुस गर्न निषेध गरिएको छ । दैनिक आन्तरिक नित्यपूजाबाहेक मठ/मन्दिरलगायतमा धार्मिक तथा सांस्कृतिक सेवा, सबै किसिमका शैक्षिक गतिविधिलगायतलाई पनि निषेध गरिएको छ । बैंक तथा बित्तीय संस्थाले सम्भव भएसम्म विद्युतीय सेवा दिनुपर्ने र त्यो सम्भव नभए न्यूनतम कर्मचारीबाट आवश्यक स्वास्थ्य सावधानी अपनाएर सेवा सञ्चालन गर्नुपर्ने प्रशासनको आदेश छ । हवाई उडानबाट बाहिर जानेका हकमा पासपोर्ट, भिसा, हवाई टिकट हेरेर सवारीसाधनलाई विमानस्थलसम्म जान सहजीकरण गरिने भनिएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक आदेश, निर्देशन र निर्णय लिने अधिकार प्रमुख जिल्ला अधिकारीलाई प्र्रत्यायोजन गर्ने निर्णय गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले संक्रमणविरुद्ध सरकारले लिएका प्रतिकार्य योजना कडाइका साथ लागू गर्न उपत्यकामा अत्यावश्यकबाहेकका सबै वस्तु तथा सेवा सञ्चालन र मानिसको आवतजावतमा रोक लगाइएको बताए । निषेधाज्ञाको निर्णय लिनकै लागि काठमाडौंसहित ललितपुरका प्रजिअ नारायणप्रसाद भट्ट, भक्तपुरकी प्रजिअ हुमकला पाण्डे तथा तीनवटै जिल्लाका सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको बैठक मंगलबार राति ९ बजेसम्म बसेको थियो ।

यसअघि उपत्यकाका तीनवटै प्रशासनले साउन २५ देखि भदौ ८ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिसकेका छन् । साउन २९ गते नै गृह मन्त्रालयले देशभर सवारी पास वितरणमा कडाइ गर्नुका साथै अत्यावश्यक काम जिल्ला संकट व्यवस्थापन केन्द्रबाट दिने निर्णय गरेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा लोक दोहरी गायक कृष्ण कँडेलको फेसबुक आइडी ह्याक भएको छ । आइडी

काठमाडौँ, १३ वैशाख । फेयरप्ले एपमा आईपीएल २०२३ को अवैध प्रसारणको सम्बन्धमा भारतको महाराष्ट्र साइबर सेलले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका

काठमाडौँ, १२ वैशाख । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सीको घर’ले उच्च शो पाएको छ । आजबाट अग्रिम बुकिङ

काठमाडौँ, १२ वैशाख । फिल्म ‘घरज्वाइँ’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण