मेडिकल कलेजले पायो पीसीआर परीक्षण अनुमति

चितवन, ३२ साउन । निजी क्षेत्रबाट कोरोनाको पीसीआर परीक्षणको अनुमति यहाँको चितवन मेडिकल कलेजले पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो ।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले यही मङ्‍गलबारसम्ममा प्रयोगशाला सञ्चालनमा ल्याइने बताए । जिल्लामा हालसम्म निजी खर्चमा पीसीआर परीक्षण गर्ने प्रयोगशाला छैन । भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड-१९ प्रयोगशालामा स्वास्थ्य मन्त्रालयले निर्देशन गरेका सम्भावित सङ्क्रमितको मात्र निःशुल्क परीक्षण गरिँदै आएको छ ।

न्यौपानेका अनुसार नमुना परीक्षणका लागि ६ हजार ५० रुपैयाँ लिइनेछ । कलेजले भित्र्याइएको पीसीआर उच्चस्तरको हो । ६ घण्टामा ४०० जनाको नमुना परीक्षण गर्न सकिने न्यौपानेको भनाइ छ । कलेजमा पीसीआर परीक्षण गर्न सक्ने सातजना प्राविधिक छन् ।

दैनिक १८ घण्टा सञ्चालन गर्दा एक हजार २०० जनाको स्वाब परीक्षण गर्न सकिनेछ । कलेजले जडान गरेको पीसीआर उपकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको जस्तै हो । उनले भने, “टेकुको जस्तै प्रयोगशाला हाम्रो हो । यस्तो नेपालमा अन्यत्र छैन ।” यसलाई बीएसएलस्तरको भनिने उनको भनाइ छ ।

प्रयोगशाला निर्माणमा पाँच करोड ४० लाख खर्च भइसकेको कलेजले जनाएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा मन्त्रालयको निर्देशिका बाहेककाले परीक्षण गर्न नपाउने भएपछि आफैँ शुल्क तिरेर परीक्षण गर्न चाहनेले अवसर पाएका थिएनन् । निजीस्तरबाट प्रयोगशाला सञ्चालनमा आएसँगै बिरामीले पैसा तिरेर परीक्षण गर्ने अवसर पाउने भएका हुन् । जिल्लामा दैनिक कोरोना सङ्क्रमण बढ्दै गएको छ । भरतपुर अस्पतालमा सङ्कलन भएको नमुनाको सङ्ख्या थपिँदै गएपछि नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता छ ।

निजी क्षेत्रबाट प्रयोगशाला सञ्चालनमा आएसँगै सरकारी प्रयोगशालामा परीक्षणको चाप केही घट्ने भरतपुर अस्पताल कोभिड(१९ प्रयोगशाला प्रमुख डा नीतु अधिकारीले बताइन् ।

क्यान्सर अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि आजबाट आकस्मिकबाहेक सेवा बन्द गरिएको छ ।

हालसम्म अस्पतालका १० जना नर्सिङ कर्मचारी र सातजना बिरामीमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमले आज एक सूचना जारी गर्दै अस्पतालका कर्मचारी कोभिड-१९ बाट सङ्क्रमित भएकाले सेवा बन्द गरिएको जानकारी दिए ।
अस्पतालका कर्मचारी, भर्ना भएका बिरामी र सङ्क्रमितसँग सम्पर्कमा आएकाको कोभिड(१९ परीक्षण गर्नुपर्ने र अस्पताल समेत निर्मलीकरण गर्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि आकस्मिकबाहेकका सेवा बन्द गरिएको उनले बताए ।

अस्पतालले प्रदान गर्ने अत्यावश्यक सेवा सम्बन्धित विभागका बहिरंग सेवाबाट प्रदान गरिने सूचनामा उल्लेख गरिएको छ । दैनिक यस अस्पतालमा देशका विभिन्‍न ठाउँबाट बिरामी आउने गर्छन् । २०५७ साल बाट सञ्चालनमा आएको यस अस्पतालमा नेपालभर र भारतका सीमा जोडिएका क्षेत्रबाट उपचारका लागि बिरामी आउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, ८ असोज । बुटवलको कोरोना अस्पतालमा उपचाररत नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको छ । उनीहरु

पाल्पा, ८ असोज । पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार

काठमाडौँ, ८ असोज । हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्युन चापीय क्षेत्र रहेको र न्युन चापिय क्षेत्र उत्तर–पुर्व सर्दै

काठमाडौँ, ८ असोज । कोभिड–१९ को संक्रमण क्रमशः बढ्दै जाने देखिएकाले यस कठिन परिस्थितिमा सो रोगको उपचारका लागि आवश्यक औषधिमध्ये एन्टिभाइरल