शुल्क उठाउने नाममा निजी विद्यालयको बदमासी !

काठमाडौँ, ११ असार । कोरोना भाइरसका कारण सबै तहका विद्यालयको पठनपाठन बन्द रहेका बेला ललितपुरको एउटा निजी विद्यालयले भने यातायात शीर्षकमा समेत रकम तोकेर अभिभावकलाई बिल पठाएको छ । कोरोना भाइरसका कारण मुलुकले लकडाउनको समस्या झेलिरहेका बेला ललितपुरस्थित युलेन्स स्कुलले यातायात शीर्षकमा समेत रकम तोकेर बिल पठाएको हो ।

पछिल्लो समयमा निजी विद्यालयले पठनपाठन नभए पनि रकम तिर्न अभिभावकसँग ताकेता गरिरहेका छन् । निजी विद्यालयको यो कदमको चर्काे आलोचना भइरहेको छ । कतिपय निजी विद्यालयले त खानाको रकम पनि बिलमा जोडेका छन् ।

युलेन्स स्कुलले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई पठाएको बिलमा यातायात खर्च शीर्षकमा १० हजार चार सय रुपैयाँ राखिएको छ । वैशाख, जेठ र असार गरी तीन महिनाको भनेर सो रकम जोडिएको हो । तर, लकडाउनका कारण भने विद्यार्थीले एक दिन पनि सो स्कुलको गाडी चढेका छैनन् ।

अभिभावकलाई पठाइएको बिलमा ब्रेकफास्ट, ल्याब शुल्क, फिल्ड ट्रिपलगायत शीर्षकमा पनि रकम तोकिएको छ । युलेन्स स्कुलका प्रिन्सिपल मेदिन लामिछानेले विद्यार्थीसँग यातायात शुल्कबापत कुनै रकम नलिएको दाबी गरे । तर, उनको यो दाबीमा भने कुनै सत्यता भेटिँदैन । कक्षा ११ का विद्यार्थीको नाममा पठाइएको बिलमा यातायात शुल्क भनेर स्पष्ट किटान गरिएको छ ।

उनले नयाँ शैक्षिक सत्रको वैशाख, जेठ र असारको मासिक शुल्क २१ प्रतिशत घटाएर हरेक अभिभावकलाई पत्र पठाइएको बताए । उनले भने, ‘अतिरिक्त शुल्क भने लिएका छैनौं । विद्यार्थीसँग यातायात शुल्क पनि लिएका छैनौं ।’

पछिल्ला केही दिनदेखि भने निजी विद्यालयले नयाँ शैक्षिक सत्रको शुल्क बुझाउन अभिभावकलाई ताकेता गर्न थालेका छन् । टेलिफोन, मेल र एसएमएसमार्फत रकम बुझाउन ताकेता गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असार । आफ्नो स्वार्थलाई पुरा गर्न नपाएपछि देशी तथा विदेशी शक्तिहरु प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष

काठमाडौँ, २५ असार । थप १०८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ

काठमाडौँ, २५ असार । दज्र्यानी चिन्हद्वारा सुशोभित भएपश्चात भक्तपुरका नवनियुक्त प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आजै आफ्नो कार्यकक्षमा पदबहाली गरेका छन्

काठमाडौँ, २५ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र प्रधानमन्त्रीबारे भारतीय सञ्चार माध्यमले अनर्गल