काठमाडौँ, २८ वैशाख । दुई सातायता भुल्के बस्तीको नतिजामा सुधार आउन थालेपछि स्थानीय प्रशासनले केही दिनभित्रै सिल गरिएको क्षेत्रलाई क्रमशः सहज गर्दै जाने रणनीति तय गरेको थियो ।
स्थानीय र प्रदेश सरकारको समन्वयमा गरिएको स्वाब परीक्षणका सबै रिपोर्ट नेगेटिभ आएपछि बस्ती पनि सामान्य बन्दै गएको थियो । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको घेरामा उकुसमुकुस जीवन बिताइरहेका सर्वसाधारण पछिल्लो नतिजामा खुसी हुँदै क्रमशः सहज हुनेमा आशा गरेका थिए ।
तर, उनीहरूको त्यो खुसीमा पुनः एक पटक ‘ब्रेक’ लागेको छ । शनिबार एकाबिहानै विभिन्न सञ्चारमाध्यममा पुनः तीन जना महिलामा कोरोना भाइरस देखापरेको समाचार सार्वजनिक भएपछि स्थानीय तहमा आएको त्यो खुसी हराएको हो । त्रियुगा नगर प्रमुख बलदेव चौधरीले सामान्य बन्दै गएको गाउँमा पुनः त्रास फैलिएको बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।