काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पछिल्लो समय एक पछि अर्को गर्दै सीमा क्षेत्रमा एकलैटी ढंगले गरिरहेको गतिविधिको कडा रुपमा आपत्ती जनाएको छ ।
शुक्रवार भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेकोमा नेपाल सरकारले आपत्ति जनाएको छ ।
परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै महाकाली नदी पूर्वक्षेत्र नेपाली भू-भाग रहेको सुगौली सन्धीमै प्रष्ट रहेको उल्लेख गरेको छ । भारत सरकारले मानसरोवर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेकोप्रति नेपाल सरकारले औपचारीक रुपमा खेद व्यक्त गरेको छ । त्यस्तै सरकारले नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न पनि भारत सरकारलाई आग्रह गरेको हो ।
भारतले गत कात्तिक १६ मा जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा पनि लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत नेपाली भूमि समावेश गरेपछि नेपालमा विरोध भएको थियो । शुक्रबार भारतीय रक्षा मन्त्रीले नेपाली भूमि हुँदै निर्माण गरिएको मानसरोवर पुग्ने सडकको उद्घाटन गरेपछि नेपालमा विरोध भइरहेको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारूढ नेकपालगायत दलले पनि भारतले नेपालको भूमिमा सडक बनाउन नपाउने भन्दै विरोध गरेका छन् ।