लकडाउनमा पोशाकको दुरुपयोग

भक्तपुर, २४ वैशाख । रमेश गिरी । देशभर बन्दाबन्दी छ, अत्यावश्यक बाहेकका सम्पूर्ण सवारी साधनहरु संचालनमा पूर्ण रोक लगाइएको छ । तरपनि सडकमा दुई र चारपाङ्ग्रे सवारी साधन निर्वाध गुडिरहेका देखिन्छन् ।

कोभिड–१९ अर्थात कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले वैशाख २५ गतेसम्म जारी गरेको बन्दाबन्दीको समयमा व्यापकरुपमा सवारीसाधनमा म्याद गुज्रेका सवारी पास र बिभिन्न निकायको पोशाकको व्यापक दुरुपयोग भएको पाईएको छ ।

सवारी पास लिएका चारपाङ्ग्रे सवारी साधनकोअगाडि सिसामा टाँसेको पास टाढैबाट देखेपछि रोकेर त्यसको म्यादसम्म नहेरी प्रहरीले पठाउने गरेपछि म्याद गुज्रेका पासको दुरुपयोग गर्दै गाडी गुड्ने गरेका छन् ।

बुधबार विहान नौबजे जडिबुटी र लोकन्थलीको सिमानामा रहेको मनोहरा खोला पुलमा नेपाल रेडक्रस सोसाईटीले सवारी साधनमा स्प्रे छर्कने लाइन छिचोल्दै प्रेस ज्योकट लगाएका व्यक्ति सवार ट्याक्सी आयो । पछाडि सिटमा महिला पुरुष गरी चारजना थिए ।

प्रहरी हवल्दारले निकै केरकार गर्दा पनि प्रेसको ज्याकेट र कार्ड देखाउदै अगाडि बढ्यो । रिसाउदै हवल्दारले भने–“सरकारको लगाएको नियम पनि यि प्रेसलाई नलाग्ने रैछ, खै कुन युट्युव च्यानलको पत्रकार रे, बनेपा जान लागेको भनेर थर्काएर गयो, हैन यिनलाई कानून लाग्दैन कि क्याहो ?”

डियुटीमा खटिएका अर्का प्रहरी कराउदै थिए–“कसैलाई छोड्यो भने पनि पहुँचवालालाई छाड्यो भनेर समाचार लेख्छन्, रोक्न खोजे पनि प्रेसलाई रोक्यो भन्छन्, हामीलाई जसरी पनि सुख छैन ।” आधाघण्टाको अबधीमा पहलो ज्याकेट लगाएका ११ वटा मोटरसाइकल गए । शसस्त्र प्रहरीका असईले भने–“हैन, पत्रकार पनि घर मै बसेर काम गर्छन् भन्या हैन, यो सडकमा आधा त पहेलो ज्याकेट लगाएका मात्रै कुद्छन्, के हो के हो ?”

सडकमा प्रेस नलेखिएका तर पहेला ज्याकेट लगाएका अन्य सवारी साधन पनि प्रेस कै भेषमा कुदिरहेका देखिन्थे । कतिपय गैरपत्रकारले पनि प्रेस लेखिएको ज्याकेट लगाए्र कुद्ने गरेको लोकन्थलीमा ड्यु्टीमा रहेका प्रहरी गुनासो गर्दै थिए ।

प्रेस लेखेको ज्याकेट लगाउँछन्, न परिचय पत्र छ, न हातमा क्यामरा, नत कापीकलम नै बोक्छन् । ज्याकेट लगायो हिड्यो हामीलाई गाह्रो छ । संचारकर्मीको पोशाक सबभन्दा धेरै द्ुरुपयोग भएको डियुटीमा रहेका प्रहरीको गुनासो थियो ।

अत्यावश्यक समाचार संकलनबाहेक अधिकांश समाचार माध्यमका समाचारदाता घरबाटै समाचार बनाइरहेको अहिलेको अबस्थामा संचारगृहका क्यामराम्यान र समाचारवाचक मात्रै सड्कमा कुद्नु पर्ने भएपनि पहेलो ज्याकेट लगाएर दैनिक करिब १३० भन्दा बढी मोटरसाइकल भक्तपुरको ६ लेन सडकमा गुड्ने गरेको प्रहरीको भनाई छ ।

पत्रकारको मात्रै होइन नेपाली सेना र प्रहरीको पोशाक समेत दुरुपयोग हुने गरेको पाइएको छ । विशेष गरी अवकास लिइसकेका नेपाली सेना र प्रहरीले आफ्नो पुरानो पोशाक लगाएर बिभिन्न काम गर्ने गरेको पाईएको छ ।

नेपाली सेनाबाट आठवर्ष अघि नै अवकाश लिएर बसेका सुवर्ण बस्नेत दैनिक ललितपुबाट भक्तपुरहुदै बनेपासम्म जानेआउने गर्छन् । सेनामा रहदाँको आफ्नो पुरानो पोशाक लगाएर जडिबुटी मनोहराबाट दैनिक निस्कने बस्नेत जडिबुटी, थिमि, सूर्यविनायक, जगातीहुदै ओहोरदोहोर गर्छन्भने व्यक्तिगत कारोबार र ठेक्कापट्टाको कामका लागि बनेपासम्म पुग्ने गर्छन् ।

जडिबुटीदेखि जगातीसम्ममा जडिबुटी पुल, कौशल्टार, गठ्ठाघर, थिमि शंखधरचोक, राधेराधे, सल्लाघारी, सूर्यविनायक र जगातीसम्मको चेकप्वाइन्ट सजिलै पार गरेर जानेआउने गर्छन् । नेपाली सेना र प्रहरीको पोशाक लगाएको देखेपछि कुनैपनि चेकप्वाइन्टमा प्रहरीले रोक्दैन, नत परिचयपत्र नै हेरिन्छ ।

यो एउटा उदाहरण मात्रै हो, पोशाक लगाएर सेना, प्रहरी र पत्रकारको नाममा व्यापक बन्दाबन्दीको उलंघन हुँदा पनि उनीहरुलाई रोकेर प्रहरीले परिचयपत्र नमाग्ने गर्दा व्यापक रुपमा पोशाकको दुरुपयोग हुने गरेको गुनासो बढेको छ ।

मध्यपुरथिमि नगरपालिका १ लोकन्थलीका सुवास न्यौपानेले प्रहरी र सेनाबाट अवकाश पाईसकेका व्यक्तिहरु समेत आफ्नो पुरानो पोशाक लगाएर हिड्ने गरेको बताउदै सेना र प्रहरीको पोशाक लगाएर मोटरसाइकलमा हिड्नेको पनि परिचयपत्र खोज्नु पर्ने बताउनुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पोशाकको दुरुपयोग हुने गरेको गुनासो आएको बताउनुभयो । जुन सञ्चारगृहमा काम गर्ने हो, सोही संचारगृहको नाममा सूचना विभागबाट परिचय पत्र लिएका पत्रकारलाई ओहोरदोहोर गर्न दिने माथिल्लो निकायबाट परिपत्र भएको जानकारी दिनुभयो ।

प्रजिअ पाण्डेले भन्नुभयो–“पत्रकारको ज्याकेट लाएर गैरपत्रकारले दुरुपयोग गरेको व्यापक गुनासो आएको छ, ज्याकेटको दुरुपयोग रोक्न पत्रकार महासंघ आफैपनि लाग्नुपर्ने हो, अब माथिल्लो निकायबाट आएको परिपत्र अनुसार सूचना विभागको परिचय पत्र हेर्ने गरी कडाई गर्नेछौ ।”

उहाँले नेपाली सेना र प्रहरीको पोशाक लगाएर ओहोर दोहोर गर्नेहरुलाई पनि परिचय पत्र हेर्न प्रहरीलाई आजैबाट निर्देशन दिने बताउनुभयो । उहाँले भन्नुभयो–“पत्रकारको मात्रै हैन, सेना र प्रहरीको पोशाकको पनि लकडाउनमा दुरुपयोग भएको सुन्यौ आजै तीनवटै सुरक्षा निकायको प्रमुखसंग छलफल गरेर पोशाक लगाउनेको पनि परिचय पत्र जाँच गर्ने र परिचय पत्र नहुनलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाउछौ ।”

प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले पत्रकारको मात्रै नभई नेपाली सेना र नेपाल प्रहरीको पोशाक लगाएर मोटरसाइकलमा हिड्नेहरुको समेत परिचयपत्र हेर्न आजैबाट निर्देशन दिने बताउनुभयो । सेना प्रहरीको पोशाक दुरुपयोग गरेको पाईए कारबाही गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ माघ । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतमा भइरहेको बहसमा वकिलहरूले विघटन असंवैधानिक कदम भएको

काठमाडौँ, १० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगका शुल्क निर्धारण सिफारिस कार्यदलले पेश गरेको शुल्क घटाउन निर्देशन

पाल्पा, १० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले वाई

काठमाडौँ, १० माघ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाल सरकारको विदेश नीति अन्तर्गत विदेशमा रहेका नेपालीहरुको ज्ञान र सिपलाई नेपालको