बझाङ, २३ बैशाख । लकडाउनको कारण नियमित खाने औषधी नपाएर साईपाल गाउँपालिका वडा नम्बर १ धलौन घर भएकी एक महिलाको मृत्यु भएको छ ।
मुटुको भल्वमा समस्या भएकी सैँतालिस वर्षीया दीर्घरोगी कंकादेवी बोहराको अस्पतालमा सोमबार मृत्यु भएको हो । विगत एक वर्षदेखि सदरमुकाम चैनपुरमा डेरा गरी बस्दै आउनुभएकी बोहराले खाने नियमित औषधि दुई साताअघि सकिएपछि उनको स्वास्थ्य कमजोर हुँदै गएको थियो । जिल्ला अस्पतालका डाक्टर सन्दीप ओखेडाले नियमित औषधि सेवन गर्न छोडेकै कारण बोहराको मृत्यु भएको बताए ।
डाक्टर ओखेडाका अनुसार ‘बोेहराले नियमित खानुपर्ने औषधि दुई हप्तादेखि नपाएर खान छोडेको र गम्भीर अवस्थामा अस्पताल आएकी बोहराको ज्यान बचाउने प्रयास गर्दागर्दै पनि बचाउन सकिएन । उनले भने, बोहराको स्वास्थ्य समस्याबारे केही अगाडि जानकारी भएको भए औषधि उपलब्ध गराउन पहल गर्न सकिन्थ्यो ।