काठमाडौँ, ११ वैशाख । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज आमाको मुख हेर्ने दिनमै ८१ वर्षिया आमाले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई जित्नु अत्यन्तै सुखद् भएको बताउनुभएको छ ।
विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले विशेष रणनीतिका साथ अघि बढिरहेको र स्थीतिलाई भयावह हुन नदिइरहेको अवस्थामा संक्रमणको संख्या बढ्दै गएता पनि संक्रमणलाई जितेर निको भई घर फर्कनेको समेत क्रम वढ्दै गएकाले आतंकित नभई सतर्क भई अघि बढ्न उहाँले अपिल गर्नुभएको छ ।
उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै ८१ वर्षिया आमाले समेत कोरोनालाई जितेर घर फर्किनुभएकोमा अत्यन्तै खुसी व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘नयाँ संक्रमित भेटिने र निको हुने क्रम जारी छ । तर आमाको मुखहेर्ने दिनमै ८१वर्षिया आमा भाईरस जितेर घर फर्केको खवर निकै सुखद छ । बधाई ।’
आजै पाटन अस्पतालको आइसोलेनमा उपचार गराइरहेका दुई जना निको भएर घर फर्किएका छन् । उनीहरु पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका हुन् । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ९ जना पुगेको छ । त्यस्तै आज उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको र योसँगै नेपालमा संक्रमितको संख्या ४७ पुगेको छ।