कोटेश्वर प्रहरीद्वारा होटेल व्यवसाय मर्यादित बनाउने पहल शुरु

‘३ घण्टे ग्राहकलाई कोठा नदिनु’—वडा सदस्य न्यौपाने

काठमाडौँ, २४ माघ । बलराम प्यासी । व्यवसायीले होटेल भनेर गेष्ट हाउस सञ्चालन गर्ने अनि परिचय खुल्ने प्रमण नराखी सेवाग्राहीलाई सेवा दिने गर्नाले पछिल्लो समयमा राजधानीका गेष्ट हाउस आत्महत्या गर्ने थलो बन्दै गरेको र अपराधका योजना बुन्ने ठाउँको रुपमा विकास हुन थालेपछि प्रहरीले यसतर्फ चासो बढाउन थालेको छ । अधिकाँश गेष्ट हाउस नियमसंगत रुपमा सञ्चालन नभईराखेको गुनासो बढेपछि प्रहरीले यसतर्फ आफ्नो सकृयता बढाएको हो ।

कोटेश्वर, जडिबुटी र नरेफाँटमा सञ्चालित गेष्ट हाउसमा हरेक वर्ष आत्महत्या र हत्याको घटनामा वृद्धि भईराखेको कोटेश्वर प्रहरी प्रभागको तथ्यांक छ । विहीबारमात्रै कोटेश्वर चोकमा रहेको एउटा गेष्ट हाउसमा गुल्मीका २३ वर्षे विद्यार्थीले आत्महत्या गरेको महानगरीय प्रहरी प्रभाग कोटेश्वरकी प्रमुख प्रहरी निरीक्षक सुभद्रा वाइवा लामाले बताइन् ।

आत्महत्या, हत्या र यौनजन्य घटनालाई नियन्त्रण गर्ने उद्धेश्यले कोटेश्वर, नरेफाँट, जडिबुटी लगायतका स्थानमा सञ्चालित होटेल र गेष्ट हाउसलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै आत्महत्या, हत्या र अपराधका घटनालाई कमी गर्न महानगरीय प्रहरी प्रभाग कोटेश्वरले शुक्रबार कोटेश्वरमा वृहत छलफल कार्यक्रमको आयोजना गरेको छ ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरकै पहलमा प्रभागका प्रहरी अधिकारी, सामुदायीक प्रहरी सेवा केन्द्र कोटेश्वर, छोरी संस्था र शुभ अवसर ग्राम नेपालका प्रतिनिधिले केही दिन अघि त्यस क्षेत्रमा सञ्चालित ५८ वटा होटेल र गेस्ट हाउसको अनुगमन गरी तथ्यांक पनि संकलन गरेको थियो ।

संकलित तथ्यांकबारे जानकारी गराउँदै र कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै ५८ वटा गेष्ट हाउसमा धेरैजसो होटेलको रुपमा दर्ता गरी गेष्ट हाउस सञ्चालन गरिएको, धेरैजसो सरकारी निकायमा दर्ता नभएको, धेरैमा सिसिटिभि नराखेको, गेष्ट हाउसमा महिला कामदार बढी राख्ने गरेको, कामदारलाई न्यून पारिश्रमिक दिने गरेको, ग्राहकसंगै राखेर मदिरा र खानेकुरा खुवाई ग्राहकलाई आर्थिक मर्का पार्ने गरेको, महिला कामदारमाथि यौनजन्य गतिविधि हुने गरेको, परिवार नियोजनाका अस्थायी साधनहरु भेटिएको, खाना बनाउने ठाउँ, सुत्ने कोठा र शौचालय फोहोर पाइएको तथ्य औंल्याईन ।

गेष्ट हाउसको सञ्चालक आफुले खासै चासो नदिएर कर्मचारी कामदारको जिम्मामा छोड्ने गरेकोले व्यवस्थित र मर्यादित रुपमा सञ्चालन भएको नपाइएको पनि निरीक्षक वाइवाले बताइन् ।

छलफल कार्यक्रमको उद्घाटन गर्दै महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले होटेल र गेष्ट हाउसलाई मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्ने हो भने व्यवसायी र सञ्चालकको प्रतिष्ठा उँचो हुने बताए ।

पछिल्लो समयमा यस्ता होटेल र गेष्ट हाउसमा हत्या, आत्महत्या, यौनजन्य गतिविधि र अपराधिक योजनाहरु बन्ने क्रम बढेकोले त्यस्ता गेष्ट हाउसहरुमा सिसिटिभि राख्नेदेखि संभावित अपराधका घटना हुन नदिन स्वयम् सञ्चालकहरु नै सचेत हुनुपर्ने कुरा औंल्याए । गेष्ट हाउसमा बस्ने पाहुनाको परिचयपत्र नराखी त्यहाँ कुनै अपराधका घटना भएमा सञ्चालकले नै दुःख पाउने बताए ।

काठमाडौं महानगरपालिका वडा नं ३२ का वडासदस्य राजेन्द्र प्रसाद न्यौपानेले होटेल, गेष्ट हाउस व्यवसायीले सबैभन्दा पहिला वडा कार्यालयमा विधिवत् रुपमा दर्ता गरि व्यवसाय सम्वृद्धिको लागि आवश्यक तालीम लिन पनि व्यवसायीलाई आग्रह गरे ।

गेष्ट हाउसमा यौनजन्य उद्धेश्यले आउने ३ घण्टे ग्राहकलाई कोठा नदिन पनि वडा सदस्य न्यौपानेले गेष्ट हाउस सञ्चालकलाई आग्रह गरे ।

आन्तरिक राजश्व कार्यालय कोटेश्वरका कर अधिकृत केशर बहादुर थापाले प्रायःजसो होटेल र गेष्ट हाउसमा मदिराको कारोवार हुने हुनाले त्यस्ता होटेल र गेष्ट हाउस आन्तरिक राजश्व कार्यालयमा दर्ता हुनुपर्ने बताए ।

म कार्यालयका निरीक्षक मचाकाजी तण्डुकारले त्यस्ता होटेल र गेष्ट हाउसमा कार्यरत श्रमिकलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक वापत १३ हजार ४५० दिनैपर्ने बताए ।

सामुदायीक सेवा तथा विकास समाजका आजीवन सदस्य एवम् मनोहरा सम्पदा समाजका अध्यक्ष पदम कुमार रेग्मीले होटेल र गेष्ट हाउस व्यवसायमा हुने गरेको नराम्रा गतिविधिका कारण समाजले यसका सञ्चालकलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको समयमा यस्ता व्यवसायलाई मर्यादित र व्यवस्थित गर्नसके सञ्चालकहरुलाई सबैले इज्जत गर्ने बताए ।

सामुदायीक सेवा तथा विकास समाज एवम् सामुदायीक प्रहरी सेवा केन्द्र ३२ कोटेश्वरका सहसचिव जनक कुमार खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा सामुदायीक प्रहरी सेवा केन्द्र ३२ कोटेश्वरका इन्चार्ज प्रहरी सहायक निरीक्षक राजेन्द्र सिंह पुजारा, छोरी संस्थाकी कार्यकारी निर्देशक हीरा दाहाल तथा शुभ अवसर ग्राम नेपालकी कार्यक्रम निर्देशक अनिता केसी लगायतले बोलेका थिए भने गेष्ट हाउस सञ्चालकहरु शीवराम गुभाजु, हरीकला गुरुङ्ग र हर्कबहादुर देउवाले व्यवसायसंग सम्वन्धित गुनासो राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ बाट लोकेश बमले शतक बनाएका छन् ।  पहिलो टी–२०

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड