काठमाडौँ, १ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले भविष्यका जिम्मेवार नागरिक बालबालिकाका लागि लगानी बढाउन सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेकी छन् ।
आज माघे सङ्क्रान्तिका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित ‘बालबालिकासँग राष्ट्रपति’ कार्यक्रममा बोल्दै उनले शिक्षा र स्वास्थ्यका साथै असल नागरिक बनाउन तिनमाथि लगानी बढाउन र हेरचाहमा कुनै कमजोरी भए विशेष ध्यान दिन संसद् र सरकारले ध्यान दिने विश्वास व्यक्त गरिन् ।
उनले आफू एकदिन भए पनि मकर सङ्क्रान्तिका अवसरमा बालबालिकासँग रमाउन र उनीहरुलाई अभिभावकत्व दिन पाउँदा खुशी भएको बताइन् ।
बालबालिकाको हितका लागि राष्ट्रको ध्यान खिंचियोस् भनेर प्रकृति र संस्कृतिसँग जोडिएको माघी पर्वका अवसरमा भेटघाट कार्यक्रम राखिएको जनाइएको छ ।