सप्तरी, १ माघ । सप्तरीमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।
बुधबार बिहान तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ का स्थानीय देवनारायण साहको घर पूर्णरूपमा जलेर नष्ट भएको तथा छिमेकी सूर्यनारायण साह र तेजनारायण साहकाे पनि एक/एक घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । गाईगोठमा बालेको आगोबाट आगो सल्किएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।
आगलागीबाट तीन जनाको खाद्यान्न, लत्ताकपडा, भाँडाबर्तन र नगद जिन्सीलगायत झण्डै १० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीवासी, प्रहरी र नगरपालिकाबाट आएको दमकलको सहायताले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैबीच आगलागी पीडितलाई पालिकाले राहतस्वरुप चिउरा, भुजिया, भुजा तथा त्रिपालको व्यवस्था गरेको छ ।