काठमाडौँ, १ माघ । आज माघे संक्रान्ति, देशभर उल्लासका साथ मनाइँदै छ ।
देशभर विभिन्न जाति र समुदायले आ–आफ्नै मुल्य-मान्यताअनुसार माघे संक्रान्ति मनाइरहेका छन् । आजको दिनदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघे संक्रन्तिलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ ।
आजकै दिनबाट हिउँद घट्दै जाने र वसन्तका साथै ग्रिष्म ऋतु बढ्दै जाने मान्यता पनि रहिआएको छ । माघे संक्रान्तिमा सबेरै उठेर नुहाईधुवाई गरेर, चोखो कपडा लगाई तील र चाकु मिसाएको परिकार तथा तरुल आदि खाने चलन छ ।
माघे संक्रान्ति थारु र मगर समुदायको मुख्य चाँड हो । थारु र मगर समुदायले माघे संक्रान्तिलाई माघी पर्वको नामले मनाउने गरेका छन् ।
पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुरलगायत जिल्लामा थारु समुदायले धुमधामका साथ माघी मनाइरहेको छन् । साथै सुदूरपश्चिम प्रदेशमा आजको दिनलाई ‘नरहरी’ पर्वको नामले धुमधामसाथ मनाइन्छ । आजको दिन बिहानै कागलाई चामलबाट बनेको विशेष रोटी ‘झुनमुने’ खुवाएर नुहाइधुवाइ गरी मनाइन्छ ।