सप्तरी, २९ असोज । सप्तकोशी नगरपालिका–१ हलेशी टोलमा गएराति आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ ।
डिल्लीबहादुर बस्नेतको काठको दुईतले घरमा अचानक आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, काठपात र नगद रु १० हजार गरी रु पाँच लाख मूल्य बराबरको क्षति भएको बताइएको छ ।
आगो निभाउने क्रममा घरधनी बस्नेतको अनुहार, हातखुट्टासमेत जलेको छ । उहाँको फत्तेपुरस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।