काठमाडौँ, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपयलाई थिती र बिधिको शासन मन नपरेर पुरानै धङधङी पालेर बसेको आरोप लगाउनुभएको छ ।
अन्तरहिमाली सांस्कृतिक एवं साहित्यिक सम्बन्ध प्रवद्र्धनका लागि दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अहिले व्यवस्था परिवर्तन भएर थिती बिधी बसेको बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपाल ज्ञान र विद्वताका लागि विश्वको अग्रणी मुलुक भएको बताउनुभएको छ ।
कुनैबेला पुर्खाहरुले भन्ने गरेको ‘सर्वे भवन्तु सुखिन’लाई वर्तमान सरकारले राष्ट्रिय आकांक्षाको रुपमा सुखी नेपाली समृद्ध नेपालको रुपमा अघि सारेको बताउँदै प्रधानमन्त्री ओलीले पुर्खाहरुले आफ्नो अनुभुतीलाई ज्ञानको रुपमा विकास गर्न हजारौं बर्ष अघि योगदान गरेको बताउनुभयो ।
अरु देशका मानिसहरु ढुंगाको भरमा शिकार गर्दैै गर्दा नेपालमा बेदका ऋचाहरुको रचना भइरहेको प्रधानमन्त्री ओलीको भन्नुभयो, “न्यूटनले गूरुत्व आकर्षणको नियम पत्ता लगाउनु भन्दा धेरै अघि भाष्करचार्यले यो नियम पत्ता लगाएका हुन् । उनीहरुले प्रचार प्रसार गरेर हाम्रा पुर्खाको पत्ता लगाएको कुरालाई ओझेल पारे ।”
नेपाली संस्कृति सभ्यताको परिचायक भएको बताउंदै प्रधानमन्त्री ओलीले नेपालीहरुलाई साँस्कृतिक रुपमा पनि पूर्वजहरुले बाटो देखाइदिएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, “सामाजिक सञ्जालले सभ्यताको पर्खाल भत्काएका छन् । सञ्चार माध्यमले अरुको नक्कल गर्ने भएर आदरार्थी शब्द पनि बिर्सिएका छन् ।”